समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

‘सुन्दरी प्रतियोगिताका नाममा यौन शोषण’

मोडलिङमा उज्ज्वल भविष्यको सपना देखेकी एक किशोरीमाथि सुन्दरी प्रतियोगितामा सहभागी गराउने नाममा आयोजकमध्येका मुख्य व्यक्तिले यौन अपराध गरेको खुलासा भएको छ। पीडित एक युवतीले बुधबार सामाजिक सञ्जाल टिकटक मार्फत सात वर्षअघि आफूमाथि भएको यौनशोषणको घटना सार्वजनिक गरेकी हुन्।

Advertisement

२०७१ सालमा आफू १६ वर्षकी हुँदा यौन शोषणमा परेका कारण मानसिक रूपमा विक्षिप्त बन्नुपरेको ती युवतीले बताएकी छन्। ती युवतीले आफूमाथिको घटनाबारे डरत्रासका कारण कसैलाई भन्न नसकेको तर अहिले जान्नेबुझ्ने भएपछि बाहिर ल्याएको बताएकी छन्। उनले यौन शोषणका कारण पटकपटक आत्महत्याको प्रयास गरेको समेत उल्लेख गरेकी छन्।

Advertisement

ती युवतीले आफू किशोरावस्थामा बलात्कृत भएको घटनालाई सात वर्षपछि भिडियो बनाएर पोस्ट गरेकी हुन्। २१ भागमा बाँडिएको पौने एक घन्टाको भिडियो क्लिपमा उनले आफूले भोगेका यौन हिंसाका दर्दनाक पीडा सेयर गरेकी छन्। उनको भिडियो टिकटकमा मात्रै सीमित नभएर फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युबसम्म फैलिएको छ।

टिकटकमा राखिएको भिडियो क्लिपअनुसार उनले आफूले सात वर्षको हुँदा चारवटा चलचित्रमा अभिनय गरेको बताएकी छन्। सानैदेखि उनको अभिनय, मोडलिङतिर रुचि भएको र कक्षा १२ को बोर्ड परीक्षा सकिएपछि आफू हाउस अफ फेसनमा अडिसन दिन गएको उनको भनाइ छ।

ती युवतीका अनुसार त्यतिबेला उनी छनोटमा नपरे पनि त्यहाँका तस्बिरहरू बाहिर आएपछि ‘फोटो सुट’ का लागि बोलाइएकी थिइन्। आफू बोलाइँदा मोडल बन्न खोजेको र त्यसमै भविष्य देखेर गएको उनले बताएकी छन्। ब्युटी पेजेन्टमा भाग लिएपछि फस्ट रनर अप हुन सफल भएको पनि उनले भिडियोमा बताएकी छन्।

फस्ट रनर अप भएपछि ‘इभेन्ट सक्सेस’ पार्टीका लागि होटल एभरेस्टमा आयोजकमध्येका मुख्य व्यक्तिबाट बोलावट भएको उनले खुलाएकी छन्। त्यसै दिन आफूलाई ‘लेमन एड’ मा केही मिसाएर दिइएको उनको भनाइ छ। १० मिनेटपछि आफूलाई रिंगटा लागेको भनेर पीडकलाई बताएको पनि उनले जानकारी दिएकी छन्। ‘उसले केटीहरूलाई गाह्रो हुन्छ भनेर रुम लिएर राखेको बताएको थियो,’ उनले भनेकी छन्, ‘म जतिबेला अर्धहोसमा आएँ, त्यतिबेला बलात्कृत भइरहेकी थिएँ।

म बिहान ४र५ बजे पूर्ण होसमा आएँ। मेरो छेउमा नग्न भएर त्यही व्यक्ति सुतिरहेको थियो। म पनि नग्न थिएँ। त्यसपछि म यति चिच्याएँ, रोएँ, मलाई सुन्ने कोही थिएन।’ उनले आफूले सुरुमा यो घटना परिवारजन, साथीसँगी कसैलाई पनि भन्न नसकेको बताएकी छन्।

उनले ब्युटी पेजेन्टका आयोजकले आफूमाथि ६ महिनासम्म लगातार यौनशोषण गरेको पनि बताएकी छन्। उनले तस्बिर खिच्ने क्रममा एकजना फोटो पत्रकार पनि आफूमाथि भएको यौन शोषणबारे जानकार भएको उल्लेख गरेकी छन्। नागरिक दैनिकबाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article