हल्दिबारी, २० श्रावण । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवले किर्ते गरी नेपाली नागरिकता लिएको आरोपसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ । उपमेयर यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहार राज्यअन्तर्गतको सुपौल जिल्लाको मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँको भएको उजुरीमा उल्लेख गरिएको छ ।

भारतको निर्वाचन नामावली २०२२ मा बिहारको क्रम संख्या ६३२ मा महेन्द्रको र ६३३ मा मीराको नाम छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेस गरेको शपथ–पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण उजुरीमा संलग्न छ ।


नेपाली नागरिकताको प्रमाण पत्र लिई मीरा सार्वजनिक पद धारण गरी नगरपालिकाको न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकाले नागरिकता ऐन, २०६३ को दफा नम्बर १२ बमोजिम मीरा, उनका पति महेन्द्र र छोरा इन्द्रजीतको नागरिकता प्रमाण पत्र रद्द गरी सोही ऐनको दफा २१ बमोजिम हदैसम्म सजाय गर्न उजुरीमा माग गरिएको छ ।

मीरालाई उपप्रमुख पदबाट निलम्बन गरी आवश्यक कानुनी कारबाहीसमेत माग गरिएको उजुरी गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय, सप्तरी, डाक्नेश्वरी नगरपालिका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई बोधार्थ गरिएको छ । तर उजुरीकर्ताको नाम भने गोप्य राखिएको छ ।