हल्दिबारी, २५ साउन। नेत्र विक्रम चन्द ” विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे विशेष केन्द्रीय बैठक केन्द्रीय कार्यालय कपिलवस्तुमा सम्पन्न भएको छ। तीनदिन सम्म बसेको केन्द्रीय बैठकले पार्टीको आगामी बाटो र संघर्षको विषयमा महत्त्वपूर्ण छलफल भएको बताइएको छ।

केही दिन अगाडि विप्लव सहितका दर्जन बढी नेताहरुमाथि गठबन्धनको सरकारले पक्राउ पुर्जी आदेश जारी गरेकोे र संसदीय निर्वाचन घोषणा गरेलगत्तै पार्टी केन्द्रीय समितिको विशेष बैठक बसेको थियोे ।

बैठकले तीन बुँदे सहमति प्रति पार्टी इमान्दार ढंगले प्रस्तुत भैरहेका बेला महासचिव विप्लव सहितका नेता कार्यकर्ताहरुमाथि सरकारले जारी गरेको पक्राउ पुर्जी आदेशकोको तीव्र भत्सर्ना गर्दै तीन बुँदे सहमति बमोजिम सम्पूर्ण मुद्दाहरु खारेजी गरी बन्दी नेता कार्यकर्ताहरुलाई रिहा गर्नुको साटो उल्टै शिर्ष नेतृत्वलाई पक्राउ पुर्जी आदेश जारी गर्नुमा सरकारको षडयन्त्र र बदनियत रहेको निष्कर्ष निकालेको छ ।

बैठकले सरकार इमान्दार नदेखिएको र सहमति लत्याउन तर्फ लागेको निष्कर्ष निकाल्दै दुई महत्त्वपूर्ण निर्णय गरेको छ । पार्टी तीन बुँदे सहमतिप्रति इमान्दार र प्रतिबद्ध भएको अवस्थामा सरकारले सो सहमति पूर्ण रुपले लागु गर्नुपर्ने, सहमति अनुसार तुरुन्त सम्पुर्ण मुद्दाहरु खारेज गरी सबै बन्दीहरु रिहा गर्नुपर्ने, त्यसका लागि आफ्नो पार्टी सरकारसँग आवश्यक संवादका लागि तयार रहने र सबै राजनीतिक पार्टी र शक्तिहरुसँग परामर्श गर्ने निर्णय गरेको छ भने अर्कातर्फ सरकारले तीन बुँदे सहमति लागु नगर्ने हो भने जनसंघर्षमार्फत प्रतिवाद गर्ने र संघर्षको बाटो अपनाउने निर्णय गरेको पार्टी स्राेतले जानकारी दिएको छ।
नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग इन्चार्ज प्रज्वलनका अनुसार विशेष बैठक विशेष परिस्थितिमा सम्पन्न भएको र बैठकमा नेताहरुमाथिको पक्राउ पुर्जी आदेश र आगामी निर्वाचनको विषयमा समेत छलफल भएको बुझिएको छ। यद्यपि पार्टी चुनावमा जाने या नजाने विषयमा कुनै जानकारी प्राप्त भएको छैन । प्रकाशन विभागका इन्चार्ज प्रज्वलनका अनुसार बैठकमा पार्टीको नवौं महाधिवेशनको तयारी, बन्दी रिहाई, महंगी भ्रष्टाचार, जनजीविकाका सवालमा आन्दोलन लगायतका विषयमा गम्भीर छलफल भएको बताए । purbigarjan