कृषि
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

चार कट्ठा जमिनमा लगाइएको कागती खेतीबाट वार्षिक छ लाख कमाइ

हल्दिबारी, ३१ भदौ ।  थोरै लगानी र कम मेहनतबाट धेरै आम्दानी लिनसक्ने भएपछि कागती खेतीतर्फ कृषकको आकर्षण बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अहिले कागती खेती गर्ने किसानको सङ्ख्या बढ्दो रहेको नवलपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइका प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो ।

Advertisement

एकपटक लगाएपछि लामो समयसम्म उत्पादन लिन सकिने र धेरै आम्दानी हुने हुँदा यसतर्फ किसानको आकर्षण बढेको उहाँको भनाइ थियो । “कागती खेतीमा धेरै लगानी गर्नु पर्दैन, एक पटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ यसैले किसान यसतर्फ आकर्षित छन्”, प्रमुख शर्माले भन्नुभयो, “तर लगाएको तीन चार वर्षसम्म आम्दानी लिन कुर्नुपर्ने हुँदा साना लगानीकर्तालाई केही समस्या पनि हुने गर्छ ।”

Advertisement

उहाँका अनुसार नवलपुरमा चार सय ५० घर परिवार कागती खेतीमा आबद्ध छन् । केही वर्ष पहिले केही मात्र किसान कागती खेतीमा आबद्ध भएकामा अहिले क्रमशः सङ्ख्या बढ्दो रहेको इकाइ प्रमुख शर्माले बताउनुभयो । जिल्लामा सामूहिकरुपमा १५ वटा समूहले कागती खेती गरेका छन् । जस्मा दुई वटा सहकारी र २५ वटा फर्म रहेका छन् । यी सबैमा गरी चार सय ५० घरपरिवार कागती खेतीमा आबद्ध रहेको उहाँले जानकारी दिनुभयो । जोन कार्यक्रममा समावेश नभएका केही कागती खेती गर्ने किसानसमेत रहेका छन् ।

उक्त परियोजनामार्फत सञ्चालित सुन्तला जात फलफूल जोन कार्यक्रममार्फत नवलपुरको बुलिङटार, बौदिकाली, गैँडाकोट, हुप्सेकोट, देवचुली र मध्यबिन्दुका केही वडामा उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । जोन कार्यक्रम सञ्चालनपछि विभिन्न अनुदान र प्राविधिक सहयोग भएकाले कृषक थप कागती खेतीतर्फ लागेका हुन् । अमिलो जातका फलफूलमा परियोजनाले सहयोग प्रदान गर्ने गरेको छ । परियोजनाको लगानीपछि अमिलो जातका फलफूल लगाउने क्षेत्रसमेत विस्तार भएको छ ।

इकाइ प्रमुख शर्माका अनुसार जोन कार्यक्रम सुरु हुने समयमा तीन सय ३० हेक्टर जमिनमा अमिलो जातका फलफूल लगाउने गरिएकामा अहिले सात सय हेक्टर जमिनमा खेती हुने गरेको छ । जसमध्ये करिब दुई सय हेक्टर जमिनमा व्यावसायिक कागती खेती मात्रै हुने गरेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । नवलपुरको तल्लो भेगमा सुनकागती १, २ र पहाडमा तेह्रथुम स्थानीय जातको कागती लगाउने गरिएको छ ।

कागती खेतीबाट वार्षिक छ लाख कमाइ
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिका– ८, का नरेन्द्रकुमार केसीले कागती खेतीबाट मनग्य आम्दानी गर्दै आउनु भएको छ । चार कट्ठा जमिनमा लगाइएको कागती खेतीबाट गत वर्ष उहाँले रु छ लाख आम्दानी गर्नुभयो । यस वर्ष करिब रु नौ लाख आम्दानी हुने कृषक केसीले बताउनुभयो ।

“गत वर्ष कोभिडले बजारमा समस्या भयो, तर पनि रु छ लाखको कागती बेचेँ, यस वर्ष कागती अझै धेरै फलेको छ, करिब रु नौ लाख जतिको बेच्छु भन्ने लागेको छ”, उहाँले भन्नुभयो, “कागती खेतीअघि बाख्रापालन गर्नुभएका उहाँ २०७३ सालदेखि कागती खेतीतर्फ लाग्नुभएको हो”, “बाख्रा पनि पालँे तर भनेजस्तो भएन, पछि यसको खेती सुरु गरे अहिले सोचभन्दा राम्रो आम्दानी दिएको छ”, केसीले भन्नुभयो ।

उत्पादन भएको कागती लिन व्यापारी बगैँचामा नै आउने गरेको उहाँको भनाइ थियो । सरदर अहिले प्रतिकिलोग्राम सयका दरले व्यापारीले बगैँचाबाट नै कागती खरिद गरी लैजाने गरेका छन् । काठमाडौँ, नारायणगढलगायत मुख्य सहरमा कागती खपत हुँदै आएको छ। बेच्न “समस्या छैन् घरमै व्यापारी आउँछन्, आफूले फलाउन सके मात्रै हुन्छ”, केसीले भन्नुभयो ।

उहाँले अहिले कागतीको नर्सरीसमेत सुरु गर्नुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल जोन कार्यक्रमअन्तर्गत केसीले नर्सरी सुरु गर्नुभएको हो । कागतीका बिरुवाको माग पूर्वदेखि पश्चिममा विभिन्न जिल्लाबाट हुने गरेको उहाँको भनाइ थियो । “परियोजना सञ्चालन भएका विभिन्न जिल्लामा बिरुवा माग आउँछ, सोहीअनुसार बिक्री गर्ने गरेको छु । कागतीको बिरुवा बेचेरसमेत राम्रो आम्दानी हुने गरेको छ”, केसीले भन्नुभयो े ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article