हल्दिबरी, ४ असाेज । हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन र उपाध्यक्ष लक्ष्मी देवी मैनाली लगायत निर्वाचन खर्च विवरण नबुझाउने गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना गरेको छ।

गत स्थानीयतह निर्वाचनमा हल्दिवारी गाउँपालिकाको अध्यक्ष / उपाध्यक्ष पदमा उम्मेद्बारी दिने सबैले खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले जरिवाना तोकेको आयोगले जनाएको छ ।

आयोगले देशभरका चार हजार १९६ जना उम्मेदवारलाई जरिवाना तोकेको हो । गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारलाई आयोगले तीन लाख ५० हजार जरिवाना गरेको हो।
त्यस्तै नगरपालिकाका वडाध्यक्षका उम्मेदवारलाई २ लाख र गाउँपालिकाका वडाध्यक्षका उम्मेदवारलाई १ लाख ५० हजार जरिवाना तोकिएको छ । झापाका स्थानीय तहका कूल २९३५ उम्मेदवारहरुमध्ये ४१९ जनाले मात्र समयमा निर्वाचन खर्च विवरण बुझाएका थिए ।
त्यस्तै ८ सय जनाले ढिलो गरी बुझाएका थिए । आयोगले नबुझाउने र ढिला गरी बुझाउने दुवै किसिमका उम्मेदवारलाई एउटै जरिवाना तोकेको छ ।
