काठमाडौं । नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी १५ दिन बिताएर राम्रो काम गरेको भन्दै नेकपा एमाले निकट युवाहरु सडकमा उत्रिएका छन् ।

सरकारमा सहभागी दलहरूको बुधबार बसेको संयुक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको ठहर गरेको निश्कर्ष निकालेका बेला युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

युवासंघले बानेश्वर(माइतीखर सडकखण्डमा प्रदर्शन भइरहँदा एमाले नेता महेश बस्नेत जुलुसमा देखा परेका छन् । नेता बस्नेतले
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर देश जोगाएको दाबी गरेका छन् । यसैबिच प्रधानमन्त्री शेर बहादुर आज नै देउवाले राष्ट्रपति भण्डारीको कदमका विषयमा कानुनविद्हरुसँग परामर्श गर्ने भएका छन् ।
जसका लागि प्रम देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे छलफल गर्न प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो साढे ३ बजे कानुनविदहरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । प्रम देउवाले आज करिब २० जना कानुन विद्हरुसँग सलसल्लाह गर्दै सुझाव लिने छन् । संविधानले सुनिश्चित गरेको १५ दिनको समयसिमा हिजो बुधबार सकिएको हो ।
राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको अपमान र अवमूल्यन भएको छ बैठकको निश्कर्ष छ । राष्ट्रपतिको कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएको र अर्कोतिर संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभुत मूल्य मान्यतामा गम्भीर प्रहार भएको बैठकको ठहर छ ।
राष्ट्रपतिको कदमविरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, वौद्धिक समुदाय, संचार लगायतलाई बैठक आह्वान गरेको छ ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष सहभागी थिए ।