कृषि
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

तरकारी खेतीबाट एक सिजनमा तीन लाख आम्दानी गर्दै जनक

अछाम-काम देख्नेलाई स्वदेशमै धेरै अवसर छन् । यस्तै एउटा उदाहरण बन्नुभएको छ, अछाम पञ्चदेवल विनायक नगरपालिका– ३ कुरिपाटाका युवा जनक अधिकारी । कृषि विषयमा उच्च शिक्षा अध्ययन गर्नुभएको उहाँ तीन वर्षदेखि कृषि पेसामा रमाइ रहनुभएको छ । उहाँले भन्नुभयो,“ योग्यता अनुसारको काम नपाएपछि व्यावसायिक तरकारी खेतीमा लागेको हुँ । ” उहाँको कृषि फार्म मध्यपहाडी (पुष्पलाल) लोकमार्गसँंगै जोडिएको छ । टनेल प्रविधिमार्फत तरकारीखेती गर्दै आएका उहाँले एक सिजनमा रु तीन लाख सम्मको आम्दानी गर्नुभएको छ । फार्ममा मुख्यगरी गोलभेँडा, काउली, गोलभेडा लगायतका मौसमी तथा बेमौसमी तरकारी खेती रहेको छ ।

Advertisement

उहाँ आफैले तरकारीखेतीका लागि आवश्यक सबै पूर्वाधार तयार पार्नुभएको थियो । एउटा प्लास्टिक टनेलबाट सुरुआत गरिएको फार्ममा अहिले २० ओटा टनेल पुगेका छन् । बजारमा बाहिरबाट आउने विषादीयुक्त तरकारीलाई निराकरण गर्नका लागि उहाँले विषादीरहित तरकारीमा विशेष जोड दिनुभएको छ ।
बजारको माग अनुसार जग्गा थप गरी आवश्यकता अनुसार व्यवसायलाई बढाउने उहाँको तयारी छ । उहाँको यो कर्ममा परिवारका सदस्यको पनि साथ रहेको छ । उहाँले आफ्नो फार्ममा किसान पाठशालासमेत सञ्चालन गर्नुभएको छ ।

Advertisement

उक्त पाठशालामा जिल्लाभित्र र जिल्ला बाहिरका किसान आएर अवोलकन गरेर त्यहाँ भइरहेको नयाँ प्रविधिको बारेमा जानकारी लिने गरेका छन् । कृषि जेटिए र आइएसि पढिरहेका कृषि प्राविधिकले त्यहाँ गएर प्रयोगात्मक अभ्याससमेत गर्ने गरेका छन् ।

आगामी दिनमा उक्त फार्मलाई बढवा दिँदै तरकारीको बीउबिजन उत्पादन गरी बजारिकरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । जिल्लाका युवा वैदेशिक रोजगारीका लागि भारत र विभिन्न खाडी मुलुकका गइरहेका बेला युवा यसरी कृषि पेसामा आउनु उदाहरणीय काम भएको सरोकारवाला बताउँछन् ।

यस्ता नमूना किसानलाई स्थानीय सरकारले पनि सहयोग गर्ने गरेको छ । पञ्चदेवल विनायक नगरपालिका कृषि शाखा प्रमुख महाजित विकले व्यावसायिक रुपमा कृषि पेसालाई सञ्चालन गरिरहेका नमूना किसानलाई प्लास्टिक घर, थोपा सिँचाइ, बीउबिजन, कृषि आँैजार तथा कृषि प्रविधि सहयोग गर्ने गरेकोे जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“नमूना किसानको पहिचान गरी तिनीलाई व्यावसायिक रुपमा आकर्षण गराउनका लागि कृषि शाखाले आगामी दिनमा पनि सयोगलाई निरन्तरता दिनेछ । ”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article