काठमाडौं, ८ असोज । वरिष्ठ चिकित्सक डा.सुन्दरमणी दिक्षितले डेंगी प्रकोपबारे सरकारले ध्यान नदिएकोमा आपत्ति जनाएका छन् । नेताहरुले गठबन्धन, महाभियोग र निजी स्वार्थमा केन्द्रित हुँदा डेगीले धेरैको ज्यान गइसकेको बताए ।
आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै डा. दिक्षितले नेताहरुले विगतमा ओमिक्रोनको बारेमा पनि एक शब्द नबोलेको स्मरण गराउँदै डेंगी भयंकर फैलिरहेको भएपनि नेता र पार्टी कही कतै नबोलेको टिप्पणी गरे । उनले भने,‘उनीहरुको ध्यान खाली गठबन्धन र भागवण्डामा सिमित छ ।’

देशका नेताहरु गठबन्धन, महाभियोग र निजि स्वार्थमा केन्द्रीत रहेको भन्दै नेताहरुलाई जनताको स्वास्थ्यबारे चासो र चिन्ता केही नभएको आरोप लगाए । उनले भने, ‘यहि क्लबबाट विगतमा कोरोनाले महामारीको रुप लिन्छ है भन्दा हामीहरुमाथि जताततैबाट अट्याक गरिएको थियो । डेंगीले यति गर्दा पनि सरकारले गम्भीरता देखाएको देखिएन ।’ लामखुट्टे मार्ने धुवाँ समेतको प्रयोग नगरिएको भन्दै सरकारको आलोचना गरे । डेंगी नियन्त्रण गर्नु सरकारको मात्र जिम्मेवारी नभएको भन्दै दिक्षितले स्वास्थ्य मन्त्रालय मातहतका निकायहरुको पनि भएको बताए । मन्त्रालयको नियन्त्रणमा रहेर प्रत्येक वडा, वडाध्यक्ष, सदस्यले गम्भीरताका साथ खटिनुपर्ने बताए ।


डेंगी प्रकोपले पछिल्लो समय कडा रुप लिदै गएको बताएका छन् । आफूले प्रत्येक दिन चेकँजाच गर्ने १० बिरामीमध्ये २÷३ जना डेंगी संक्रमित हुने उल्लेख गरे । कोरोना भाइरससँग लड्ने क्षमता, प्रतिरोध गर्ने क्षमता बढेकोले कोरोना मथ्थर भएको सुनाउँदै उनले डेंगी एक पटक संक्रमित भएर दोस्रो पटक फेरि भएमा त्यसको रुप झन चर्को हुने बताए । उनले अरु रोग एक पटक लागेपछि रोगप्रतिरोधात्मक क्षमता बढ्ने भएकोले मथ्थर बनाउन सकिने तर यसमा भए दोस्रोपटक संक्रमण भएमा कडा रुपलिने जानकारी दिए । कोही व्यक्तिमा हु–बहु लक्षण डेंगीको भएपनि जाँच गराउँदा डेंगी नदेखिने गरेको उल्लेख गर्दै पाँचौं भाई अर्थात् पाचौं भेरियन्ट जन्मेको हो की आशंका लागेको उनले सुनाए । डा. दिक्षितले डेंगी संक्रमित गराउने लामखुट्टे मलेरिया गराउने जस्तो नभएको हुनाले बाहिर बस्दा लामो लुगा लगाउन सबैलाई आग्रह गरे । यसको उपचार नभएको भन्दै एउटा भ्याक्सिन मात्र भएको र अहिले सबैलाई दिने नसकिने पनि स्पष्ट पारे ।

एउटा लामखुट्टेले ४÷५ जनालाई टोकर संक्रमित गराउने र मलेरियामा जस्तो टोकेपछि चिलाउने यसमा लक्षण नदेखिने उनले स्पष्ट पारे । डेंगी संक्रमित लामखुट्टेले टोकेमा ५ वा ६ दिनपछि ज्वरो आउने त्यसको ५÷६ दिनमा प्राय ज्वरो हराउने र ज्वरो ७ दिन भन्दा बढी आएमा खतराको संकेत हुने उनले थप जानकारी दिए । उनले भने,‘७ दिन भन्दा बढी ज्वरो आए, रातो बिमिरा आए र रक्तचाप घट्दै गएमा एकदम खतरनाक अवस्था हो ।’ डेंगी जाँच सँगै रगत जाँच्न जरुरी भन्दै उनले १० दिन भन्दा अगाडि नै बिरामी सिरीयस हुने र १० दिन पछि ज्वरो आएमा डेंगी नहुने बताए । डेंगीको प्रमुख लक्षणहरु ज्वरो आउने, ज्यानदुख्ने, टाउको दुख्ने, आँखा दुख्ने, वाकवाक लाग्ने, डायरीया हुने बताए । सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले डेंगु नियन्त्रणमा निराशा देखिएको बताए । स्वास्थ्य मन्त्रालय अन्तर्गतको लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान दुई महिना अगाडीदेखि सुरु गरेको भए यस्तो अवस्था नआउने टिप्पणी गरे । एकै परिवारका सदस्य पालैपालो अस्पताल पुगेपछि आफूलाई त्यत्ति बेला देखिनै घर–घरमा डेंगी पुगेको महशुश गर्न थालेको उनले बताए ।

डा. पुनले भने,“अस्पतालमा डेंगीबाट बिरामी हरेक दिन नढलेको दिनै छैन,मेरो रुम इमर्रजेन्सीनजिकै छ, कोभिडको दोस्रो महामारीमा कोभिडका बिरामी जसरी ढल्ने गर्थे त्यही सम्झना आइरहन्छ । जुन साह्रै पीडादायी थियो । लाइनमै बस्न नसकेर मानिसहरु ढल्ने गरेका छन् ।” डा.पुनले आफूले एक दिनमा ७०÷८० जनासम्म डेंगीका बिरामी जाँच्ने गरेको सुनाए । पछिल्लो समय व्यवसायीहरुले वरिपरि लामखुट्टे धपाएर बस्ने कि कारोबार गर्ने चुनौती आएको भन्दै उनले यस्तो समस्या देशमा मात्र नभई विश्वभर नै भएको बताए । नेपालले कोभिड महामारीबाट पनि पाठ नसिकेकोले आज यो अवस्था आएको र अब पनि पाठ नसिके अझै ठुलो समस्या ननिम्ताउला भन्न नसकिने उनको भनाइ थियो । उनले डेंगीको प्रकोप आम मानिसको लुकेको पीडा भएको बताए । “आफूले काम गर्ने स्थल, विद्यालय, कार्यालय, जहाँ धेरै मानिसहरुको आवातजावत हुन्छ त्यस्तो ठाउँमा लामखुट्टे उत्पादन भइसकेको छ त्यस्ता ठाउँमा एक÷दुई दिन रोकेर भएपनि लामखुट्टे नष्ट गर्न सकियो भने ति लामखुट्टे संक्रमित रहेछन् भनेपनि टोक्न पाउँदैनन्”, सबैभन्दा पहिला आफू काम गर्ने वा बस्ने स्थानमा लामखुट्टे खोजेर नष्ट गर्नुपर्नेमा जोड दिँदै उनले भने, “बाहिर–बाहिर खोज्ने र घरभित्र आए टोक्ने गरे थप संक्रमित हुने सम्भावना देख्छु ।”

सिकिस्त भएका बिरामी मात्रै अस्पताल पुग्ने र लक्षण देखिएका बिरामी घरमै बस्ने गरेको उल्लेख गर्दै उनले बिरामीको संख्या धेरै हुनसक्ने बताए । काठमाडौंका हरेक अस्पताले डेंगु बिरामीको उपचार सामान्य बेड नपुगेर थप बेड राखेर गरिरहेको सुनाए । सरुवा रोग विशेषज्ञ डा.गरिबदास ठाकुरले डेंगी रोग चार प्रकारको हुने बताए । यसबाट संक्रमित हुन एउटा लामखुट्टे एक व्यक्तिको आवश्यकता पर्ने उनले बताए । डेंगी एउटा मानिसबाट अर्को मानिसमा नसर्ने उल्लेख गर्दै लामखुट्टेको टोकाईबाट मात्र संक्रमित हुने स्पष्ट पारे । सबै लामखुट्टेले टोक्दैमा संक्रमित नहुने जानकारी दिँदै डा. ठाकुरले एडिस जातको पोथी लामखुट्टेले टोकेमा मात्र महामारी फैलिने बताए । डेंगी महामारी सेप्टेम्बरमा सुरु भएर नोभेम्बरमा सम्म हुने र वर्षातको सिजनमा धेरै समस्या उत्पन्न गराउने बताए ।

डा. ठाकुरले २००४ मा आफ्नो नेतृत्वमा नेपाल डेंगी प्रभावित राष्ट्रको रुपमा विश्व स्वास्थ्य संगठनमा राख्न सफल भएको पनि बताए । हरेक ३ देखि ४ वर्षमा यसको प्रकोप देखा पर्ने भन्दै उनले प्रत्येक वर्ष सचेत हुनुपर्ने बताए । उनले भने,‘अझै तीन देखि चार वर्षसम्म बेस्सरी सचेत हुनुपर्छ । यसको लागि बजेटको व्यवस्थापन, एक्सपर्टहरुलाई डेंगीको नियन्त्रण गर्ने तालिमको व्यवस्थापन र नियन्त्रणबारे सरकारले विशेष ध्यान दिनुपर्छ ।’ डेंगी नियन्त्रणमा पत्रकार, चिकित्सक, स्थानीय सरकार र सरकार र पब्लिक सबैको सबैको भृमिका बराबर हुने उनले बताए । लामखुट्टे सम्बन्धि प्रकोप नियन्त्रणका लागि १० प्रतिशत हुने एडल्ट लामखुट्टे नियन्त्रण गर्ने र ९० प्रतिशत हुने लामखुट्टेको लार्भा सफा पानीमा बस्ने नदिने सबैभन्दा प्रमुख भएको उनले स्पष्ट पारे । लार्भाले सफा र अस्थिर पानीमा फुल पार्ने उनको भनाइ थियो । लामखुट्टेले पानी जम्न नदिएमा फुल पार्न नसक्ने भन्दै लार्भाले खुला भएका ड्रम र बगेटाहरुलाई छोपेर राख्नुपर्नेमा जोड दिए । सरकारले ल्याएको खोज र नष्ट गर्ने विधि राम्रो भएको उल्लेख गर्दै लार्भालाई खोजेर नष्ट गरेमा एडल्ट लामखुट्टे नियन्त्रण गर्न सकिने बताए । जनचेतना अभिवृद्धि गरेर, सरकारले एक्सपर्टको सल्लाहमा अघि बढेर र बजेटको व्यवस्थापन गरेमा प्रकोप नियन्त्रण गर्न सकिने उनले बताए ।