हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सन्दीपका वकिल भन्छन्, ‘नाबालिका भनिएकी किशोरीको उमेर १८ वर्ष पुगेको पत्र आयो’

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र प्राप्त भएको लामिछानेका वकिलले बताएका छन् । लामिछानेका एक वकिलका अनुसार आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र जिल्ला अदालत काठमाडौँमा पठाइएको छ ।

Advertisement

आफ्नो नाम नराख्ने शर्तमा लामिछानेको मुद्दाको नेतृत्व गरिरहेका अधिवक्ताका अनुसार करिब १५ दिन अगाडि नै काठमाडौँ जिल्ला अदालतमा स्थानीय तहको पत्र प्राप्त भएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतले किशोरीको स्थायी ठेगाना रहेको नुवाकोटको स्थानीय तहलाई किशोरीको जन्मदर्ता लगायतका कागजातको सक्कल प्रति र ढड्डा नै पठाउन आदेश दिएको थियो ।

Advertisement

अदालतको आदेशपछि उक्त गाउँपालिकाले नाबालिकाको उमेर खुल्ने जन्मदर्ताको ढड्डा लगायतका कागज काठमाडौँ जिल्ला अदालतमा पठाएको हो । प्राप्त पत्रमा किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको छ ।

सन्दीपका एक वकिलले भने, ‘स्थानीय तहले काठमाडौँ जिल्ला अदालतमा जन्मदर्ता खुल्ने सक्कल कागजात पठाइसकेको छ । उक्त कागजातमा किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको उल्लेख छ । यसको अर्थ वारदात भएको भनिएको समयमा किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको देखिन्छ ।’

१८ वर्षभन्दा माथि रहेको भए पनि बलात्कार त हुन्छ होला नि भन्ने रातोपाटीको प्रश्नमा ती वकिलले भने, ‘१८ वर्ष पुगेपछि आपसी सहमतिमा यौनसम्बन्ध स्थापित गर्न पाउँछन् । यहाँ त यौनसम्बन्ध स्थापित भयो कि भएन भन्ने कुरा पनि अनुसन्धानकै क्रममा रहेको छ । यौनसम्बन्ध भएको भए पनि जबरजस्ती करणी हुन त त्यसको कुनै चिन्ह वा सङ्केत चाहिएला नि ।’

कानुनतः १८ वर्ष उमेर पुगेका व्यक्तिहरूले आपसी सहमतिमा यौन सम्बन्ध स्थापित गर्न सक्छन् । १८ वर्ष नपुगी सहमतिमै यौनसम्बन्ध भए पनि त्यसलाई बलात्कार मानिने कानुनी व्यवस्था छ ।

सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिने किशोरीको उमेर १८ वर्ष पुगिसकेको प्रमाणित भएमा उक्त मुद्दामा व्यापक परिवर्तन हुन सक्नेछ । किशोरी होटलको कोठामा जाँदा हाँसीखुसी गएको र रिसेप्सनबाट आफैँले साँचो लिएर गएको कारण त्यहाँ जबरजस्तीको चिन्ह नदेखिएको सन्दीप पक्षका वकिलहरूले जिकिर गरेका थिए । यदि किशोरीको उमेर १८ वर्ष पुगेको प्रमाणित भएको अवस्थामा भने सन्दीपले सफाइ पाउने सम्भावना समेत बलियो बन्नेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)