हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

थारु वस्तीमा माघी र नयाँ वर्षकाे रमझम

धनगढी, ३० पुस;१ माघ (माघी) अर्थात मकर संक्रान्ति । मकर संक्रान्तिलाई देशभर भव्यताका साथ मनाइने गरिन्छ । थारु समुदायमा भने माघिसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारु संवत २६४६ सुरु हुँदैछ । जसका लागि थारु समुदाय तयारीमा जुडेकाे छ । माघि र नयाँ वर्षलाई धुमधामका साथ मनाउने थारु समुदाय मघौटा, धमार झुम्रा नाचमा रमाउने गर्छ ।काम विशेषले घर बहिर रहेकाहरू पनि माघी र नयाँ वर्ष मनाउन फर्कन थालेका छन् । धनगढी–३ का श्यामु चौधरीका अनुसार नयाँ वर्षमा विशेष रुपमा ‘जिता’ (बंगुर)को घरघरमा व्यवस्था हुने गर्दछ ।  ‘नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्न गाउँ वस्ती आसपासका नदीमा सरसफाई गर्ने गरिन्छ,’ चौधरीले भने, ‘थारु समुदायले थारु संवत २६४५ को भव्य बिदाई गर्ने र २६४६ को स्वागतका लागि गाउँटोललाई सजाउन थालिएका छन्, अहिले गाउँघर रमाइलो लाग्न थालेको छ ।’

Advertisement

नयाँ वर्षकै दिन थारु समुदायले भल्मन्सा, गुरुवाको चयन पनि गर्ने  चलन छ । जसका लागि टोलटोलमा नयाँ गुरुवाको चियो चर्चा चल्न थालेको कैलारी गाउँपालिका–५ का स्थानीय चन्द्र चौधरीले बताए । ‘गाउँमा जम्मा भएका युवा आपसमा रमाइलो गर्ने गर्दछन्,’ उनले भने, ‘यो समुदायको मौलिक संस्कृति र भेषभूषाको आफ्नै विशेषता छ । जसमा हामीहरू रमाउने गर्दछौं ।’पर्वको तयारीका लागि खाद्यान्नहरूको जोहो गर्ने, दुनाटपरी गाँस्ने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको खाने तेल पेल्ने, घर लितपोत तथा आँगन सरसफाइ लगायतका कामहरू लगभग सकिएका छन् । ‘अब रमाइलो गर्ने मात्रै हो,’ चौधरीले भने, ‘तयारी सबै सकिएको छ, नयाँ वर्ष र माघीमा रमाइलो गर्दै खुशीयाली मात्रै बाँड्न बाँकी हो, त्यो दिनको पर्खाइ हो, अबत ।’ माघीमा विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गेटालगायत खानाका परिकारहरु खाने चलन रहिआएको छ ।’

Advertisement

यो पर्वसँगै नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ नयाँ लत्ताकपडाको पनि उचित जोहो गरेको उनले बताए । रोजगारीका लागि विदेसिएकाहरू पर्व मनाउन घर फर्किसकेका छन् भने कोही फर्कने क्रममा छन् । माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँडरक्सी, ढिक्री, रोटीलगायत खानाका परिकार तयार गर्न समुदायका युवतीहरू व्यवस्त हुने गर्छन् । थारू समुदायको मुख्य पर्व भएकाले तामझाँमका साथ मनाउने तयारी भइरहेको गाउँका अगुवा चेतराम चौधरीले बताए ।

पुसको अन्तिम दिनलाई थारु समुदायले पुरानो वर्षको अन्तिम दिनका रुपमा मनाउने गर्छन् । पुरानो वर्षको विदाई स्वरुप पुषको अन्तिम दिन (जीता) बंगुर मार्ने प्रचलन रहेको थारु अगुवा माघव चौधरीले बताए । ‘जिता’ को प्रसादसँगै रातभर जाग्रम बस्दै मघौटा नाच प्रदर्शनी गरिन्छ । यो नाच दाङबाट कैलाली बसाई सरेका समुदायले नाच्ने गरेको उनले बताए । तर, अन्यत्रबाट आएका थारु समुदायले भने धमार, झुमा नाच पनि नाच्ने गर्दछन् । ‘माघे संक्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी, तलाउमा नुहाइ आफूभन्दा ठूलाबाट आशीर्वाद लिने चलन छ । चौधरीका अनुसार विशेष स्नानपछि विवाहित छोरी चेलीलाई (निश्राउ) चामल, नुन, तेल, बेसारलगायतका खाद्यान्नबाट तयार पारिएको परिकार दिने परम्परा छ । जसलाई थारु भाषामा ‘उपहार’ भनिन्छ ।

थारू समुदायमा यो पर्वमा विषेशगरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गोटा लगायतका स्थानीय खानाका परिकारलाई महत्व दिने गर्दछन् । थारू समुदायका विभिन्न लोकसंस्कृति झल्किने एकल तथा सामुहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ । यो प्रक्रिया माघ महिनाभर चन्ले भएपनि पछिल्लो समय भने एक÷दुई दिनमा सीमित हुन थालेको छ । कामको शिलशिलामा युवाहरुले गाउँ छोड्नुपर्ने बाध्यताका करण यो पर्व दुई चार दिनमै सीमित हुने गरेको कैलारी गाउँपालिका–५ का चन्द्रबहादुर चौधरीले बताए ।

भलमन्सा, गुरुवा चुनिने
नयाँ बर्ष र माघी पर्वलाई विशेष रुपमा मनाएको दोश्रो दिन अर्थात २ माघमा गाउँगाउँमा माघी दिवानी (विशेष छलफल) गरिन्छ । त्यस दिन छलफलका माध्यामबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ । जसलाई भलमन्सा भनिन्छ । नयाँ वर्षपछि गाउँमा गुरुवाको पनि चयन गर्ने गरिन्छ । उनीहरूले गाउँको रक्षा गर्ने, अप्ठारो परिस्थितीमा उचित निर्णय दिने, न्याय दिने लगायतका काम गर्ने गर्दछन् ।भल्मन्सालाई नेता (गाउँको अगुवा)का रुमा लिइन्छ भने गुरुवालाई पूजारीका रुपमा लिइन्छ । यतिमात्र हैन राजनीतिमा पनि उनीहरूको महत्वपूर्ण भूमिका हुन्छ  ।
निर्वाचनका क्रममा थारु समुदायका भल्मन्सा र गुरुवाहरूले दिने निर्णय बढी आधिकारिक हुने भएका कारण सवैले गुरुवा र भल्मन्सालाई विशेष रुपमा हेर्ने गरेका हुन्छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)