हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठजना पक्राउ

पाटन-मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठजनालाई प्रहरीले पक्राउ गरेको छ । ‘मेरो गल्स’ मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी सिद्धीविक्रम शाहले जानकारी दिनुभयो । ललितपुर प्रहरीले काठमाडौँ र मकवानपुरबाट उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरूले ललितपुर–१५ सातदोबाटोका हरिप्रसाद ढकालको नाममा एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ एप ह्याक गरी रकम चोरी गरेको शाहले बताउनुभयो ।

Advertisement

गत मङ्सिर २६ गते ढकालको नाममा रहेको एकाउण्ट ह्याक गरी विभिन्न व्यक्तिको नाममा रहेको ईसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरी ठगिएको उजुरी प्रहरी परिसरमा परेको थियो । उजुरी दर्ता भइ अनुसन्धान गर्दै जाँदा पक्राउ परेका उनीहरुले सङ्गठित रुपमा विद्युतीय माध्यमको प्रयोगबाट अनधिकृत रुपमा खाताको रकम निकाली हिनामिना गरेको देखिएको उहाँले बताउनुभयो ।

Advertisement

पक्राउ पर्नेमा भारतको बिहार घर भई काठमाडौँको चाबहिल बस्ने अवधेश कुमार, सप्तरीको कृष्णासरवन गाउँपालिका–२ घर भई काठमाडौँको जोरपाटी बस्ने दिलीपकुमार चौधरी, पर्साको विन्दावासिनी–८ का नगेन्द्र साह कानु, रौतहटको रंगपुर–१ घर भई मकवानपुरको हटौँडा बस्ने रविना चौधरी, बाराको कोलबी नगरपालिका– ४ घर भई मकवानपुरको हेटौँडा बस्ने सन्तोष कुँवर, पर्साको वीरगञ्ज महानगरपालिका–२५ का राजु पटेल, सोही स्थानका साहिल परबेज र शिवशङ्कर राउत छन् ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका नौ थान मोबाइल, एक थान ल्यापटप र चार थान एटिएम कार्ड बरामद गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विभिन्न व्यक्तिको रु ५० लाख ठगिएको पाइएको छ । पक्राउ परेकालाई उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)