हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारीले गर्दा पाँच सय परिवार दुई महिनादेखि अन्धकारमा

सर्लाही-बरहथवा नगरपालिका–११ का करिब पाँच सय परिवार दुई महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । बरहथवा–११ का बासिन्दा मङ्सिरदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् । यहाँस्थित विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थामार्फत २०६७ सालदेखि बिजुली बाल्दै आएका आफूहरु गएको मङ्सिर २७ गतेदेखि अन्धकारमा बस्न बाध्य भएको स्थानीयवासीको गुनासो छ ।

Advertisement

सहकारी संस्थाले बिजुलीको बक्यौता रकम चुक्ता नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रले बरहथवा–११ को हीरापुर, हीरापुर ब्यारेज र खोरकट्टी गाउँमा बत्ती काटेपछि मङ्सिरदेखि आफूहरु अन्धकारमा बस्न बाध्य भएको स्थानीय रामगुलाम महतोले बताउनुभयो ।

Advertisement

उहाँका अनुसार सामुदायिक विद्युतीकरणअन्तर्गत विद्युत् प्राधिकरणले एक ठाउँमा थोक मिटर राख्ने र त्यही मिटर रिडिङ गरेर सहकारीको नाममा बिजुलीको एकमुष्ट बिल काट्ने गरेको थियो । त्यसपछि सहकारीले आफ्ना कर्मचारी खटाएर स्थानीयवासीको घर–घरमा रहेको मिटर रिडिङ गरेर पैसा सङ्कलन गर्दै आइरहेको थियो ।

पछिल्लो समय भने सहकारीले पैसा बुझाउन नसकेपछि प्राधिकरणले गाउँको बत्ती काटेदेखि आफूहरु अहिले टुकीको भरमा रात काट्न बाध्य भएको स्थानीय कपिल रायले बताउनुभयो । उहाँका अनुसार मोबाइल चार्ज गर्नसमेत छिमेकी गाउँ वा बरहथवा बजारसम्म आउनुपर्ने बाध्यता छ ।

नियमित बिजुली महसुल बुझाउनेको समेत बत्ती काटिएको स्थानीय लोकप्रसाद पराजुलीले बताउनुभयो । उहाँका अनुसार सहकारी संस्थाका पदाधिकारीले सुरुदेखि नै हेलचेक््याइँ गर्दा अन्धकारमा बस्नुपरेको परेको छ । गाउँमा बिजुली नहुँदा स्थानीयले अन्यत्र रहेका आफन्तसँग कुराकानी गर्न पाएका छैनन् ।

बिजुली नहुँदा बरहथवा–११ स्थित वडा कार्यालयमा अनलाइनबाट हुने सम्पूर्ण काम प्रभावित बनेको वडाध्यक्ष नवराज राईले बताउनुभयो । उहाँका अनुसार बत्ती नरहेकाले अनलाइनबाट हुने घटना दर्ताका लागि सेवाग्राहीलाई नगरपालिका कार्यालयमै पठाउनुपर्ने बाध्यता सिर्जना भएको छ ।

सुरुमा जसरी पनि गाउँमा बत्ती बाल्नुपर्छ भनेर सामुदायिक विद्युतीकरण गरिएको विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाका उपाध्यक्ष रामकृष्ण चालिसेले बताउनुभयो । उहाँले कतिपय ग्राहकले पैसा नबुझाइदिँदा यो अवस्था आएको बताउनुभयो । प्राधिकरणले यसअघि पनि बेलाबेलामा गाउँमा आएर बत्ती काट्दा स्थानीयले पैसा उठाएर केही बक्यौता रकम तिरेर सञ्चालन गराउने गरेका भए पनि यस पटक करिब दुई महिनादेखि देखिएको समस्या समाधानमा कसैको चासो छैन् ।

ग्रामीण विद्युतीकरण असफल भएपछि अब भने सोझै प्राधिकरणबाट घर–घरमा मिटर राखेर प्राधिकरणले नै मिटर रिडिङ गर्ने व्यवस्था मिलाउन लागिएको नगर प्रमुख कल्पनाकुमारी कटुवालले बताउनुभयो ।

उहाँले ग्रामीण विद्युतीकरण गर्ने सहकारीले लेखापरीक्षण केही नगरेको र संस्था नै लथालिङ अवस्थामा रहेकाले प्राधिकरणकै माध्यमबाट बिजुली मिटर प्रयोग गरी महसुल सङ्कलनको व्यवस्था मिलाउन लागिपरेको बताउनुभयो ।

सामुदायिक विद्युतीकरणलाई प्राधिकरणमै गाभ्ने प्रक्रिया अघि बढाइएको नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रका सुपरभाइजर छोटेलाल यादवले बताउनुभयो । उहाँका अनुसार हाल सहकारीको नाममा रहेको रु १३ लाख बक्यौता नगरपालिकाले तिर्ने सहमतिपछि सो गाउँमा मिटर जडान गरेर लाइन जोड्ने तयारी भइरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)