हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

झापा र भोजपुरका विद्यालयमा साहित्य चौतारी अभियान

झापा । साहित्य चौतारी झापाले विद्यालय तहमा कला, साहित्य र संगीत प्रवर्द्धन अभियान सुरु गरेको छ । झापा र भोजपुरका १६वटा सामुदायिक विद्यालयमा एकैसाथ ‘विद्यालयमा साहित्य चौतारी’ अभियान सुरु भएको हो ।

Advertisement

विद्यार्थीमा अन्तरनिहीत प्रतिभालाई थप प्रोत्साहित गर्न ‘विद्यालयमा साहित्य चौतारी’ अभियान सुरु गरिएको संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । केही महिनादेखि विद्यालयमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रम सञ्चालन गरिएका विद्यालयमा सिद्धेश्वर मावि भोजपुर, शनिश्चरे मावि अर्जुनधारा, धुलाबारी मावि मेचीनगर, शान्ति आदर्श मावि वुद्धशान्ति, हिमालय मावि दमक, कनकाई मावि सुरुङ्गा, झिलझिले मावि शिवसताक्षी र दुर्गा मावि गरामनी छन् ।

Advertisement

पथरिया मावि कचनकवल, लक्ष्मी मावि हल्दीबारी, गौरीगञ्ज मावि गौरीगञ्ज, भद्रपुर मावि भद्रपुर, कुवाडीदेवी मावि झापा गाउँपालिका, जनता मावि गौरादह, फुलबारी मावि वाह्रदशी र महेन्द्ररत्न मावि कमल गाउँपालिकामा पनि यो कार्यक्रम सञ्चालन भइरहेको छ ।
हरेक महिना नियमित मासिक सांगीतिक काव्यसभा सञ्चालन गर्दै आएको साहित्य चौतारीले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरुलाई सहयोग गरिरहेको छ । चौतारीका संरक्षक श्रेष्ठ साहित्य, संगीत र कला विधामा अब्बल जनशक्ति उत्पादनको लक्ष्य राखेर कार्यक्रम सञ्चालन गरिएको बताउँछन् ।

साहित्य चौतारीले विद्यालय तहमा यो कार्यक्रम सञ्चालन गर्न साहित्यकार भानुभक्तको कुभिण्डेलीको नेतृत्वमा समिति पनि बनाएको छ । कार्यक्रम लागू भएका विद्यालयमा हरेक महिना साहित्य, संगीत र कला विधामा विद्यार्थीबीच प्रतिस्पर्धा हुने गर्छ । प्रतियोगितामा उत्कृष्ट भएका विभिन्न विधाका विद्यार्थीलाई साहित्य चौतारीले नगद पुरस्कार समेत उपलब्ध गराउँदै आएको संरक्षक श्रेष्ठले जानकारी दिए । ‘प्रतिभाशाली विद्यार्थी उत्पादनमा यो कार्यक्रमले कोसेढुङगाको रुपमा काम गर्छ भन्ने हाम्रो विश्वास छ’ संरक्षक श्रेष्ठले भने ।

विद्यालयमा साहित्य चौतारी अभियानबारे छलफल हुँदै साहित्य चौतारीले विद्यालयमा लागू गरेको कार्यक्रमका विषयमा सरोकारवालासँग छलफल गर्ने तयारी गरेको छ । कार्यक्रमको प्रभावकारिता र आगामी कार्ययोजनाका विषयमा साहित्य चौतारीले सम्वन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विषय शिक्षक लगायतसँग छलफल गर्न लागेको हो ।

बैशाख १६ गते ११ बजे होटल हिकोला हेरिटेजमा छलफल कार्यक्रम आयोजना गरिएको साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । छलफलका लागि साहित्य चौतारीले कार्यक्रम लागू भएका सबै सरकारी विद्यालयलाई आमन्त्रण गरेको छ । ‘कार्यक्रमलाई थप प्रभावकारी र रचनात्मक बनाउन सकियोस् भन्ने हाम्रो उद्देश्य छ’, संरक्षक श्रेष्ठले भने, ‘यसका लागि सबै विद्यालयलाई आमन्त्रण गरेका छौँ ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)