हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

भारतीय पर्यटक बोलाउन इलामेली व्यवसायी भारतमा

२६ जेष्ठ । नेपालमा भारतीय पर्यटकको सङ्ख्या बढाउन नेपाली व्यवसायी भारत प्रस्थान गरेका छन् । पूर्वी नेपालबाट पर्यटक आगमन बढाउने उद्देश्यले इलामेली पर्यटन व्यवसायीहरू भारत भारत प्रस्थान गरेका हुन् । व्यवसायीले पाँच दिनसम्म भारतको पश्चिम बङ्गालस्थित सिलिगुडी र सिक्किमका विभिन्न स्थानमा पर्यटन सरोकारवालासँगको भेटघाट र छलफललाई प्राथमिकता दिने बताइएको छ ।

Advertisement

इलामका पर्यटन व्यवसायीको आयोजनामा इलामको पर्यटन प्रवर्द्धनका लागि २२ सदस्यीय टोली भारतको सिलगुडीसहित सिक्किममा त्यहाँका पर्यटन व्यवसायीको साझा संस्थाको कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

Advertisement

भारतका पर्यटन व्यवसायीसँग व्यावसायिक साझेदारीका विविध पक्षबारे व्यापक छलफल गरिने इलामका पर्यटन व्यवसायी एवं होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार इलामसँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यका चलो इलाम कार्यक्रमको तय गरिएको छ । पर्यटन व्यवसायीले आजै झापाको बिर्तामोडमा इलाम–झापा मैत्री समाजका सदस्यहरूसँग भेटघाट गरी इलामको पर्यटन विकासबारे छलफल गरेको छ ।

होटल व्यवसायी सङ्घ इलामका महासचिव प्रकाश चापागाईंले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभयो । इलाम–झापा मैत्री समाजका अध्यक्ष तिलोत्तमा खत्रीले समाजसँग मिलेर अगाडि बढ्ने जानकारी दिनुभयो । इलाम नगरप्रमुख केदार थापाले पर्यटन प्रवर्द्धनका लागि ‘चलो इलाम’ कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । भ्रमण टोलीमा इलाम नगरप्रमुख थापासहित होटल व्यवसायी, पर्यटन व्यवसायीको सहभागिता रहेको छ ।

कार्यक्रममा भारतका उत्तरपूर्वी राज्यबाट इलाम आउने क्रम पनि बर्सेनि बढ्दै गएको जानकारी दिँदै अध्यक्ष पौडेलले नेपाली भाषीको बाहुल्य रहेको ती ठाउँ नेपालको धर्म संस्कृतिसँग पनि उत्तिकै मिल्ने भएकाले पर्यटकीय साझेदारीका धेरै सम्भावना रहेको बताउनुभयो । खासगरी इलामको मार्ग भएर हिँड्ने सिक्किमका पर्यटकलाई लक्षित गरिएको उहाँको भनाइ छ ।

यही जेठ २८ गतेसम्म हुने प्रवर्द्धनात्मक भ्रमणमा भारतको सिलगुडी, सिक्किम, कालेङ्पुङलगायतका पर्यटकीयस्थलमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदै नेपालको प्रचार गरिने जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)