विजनेश
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हस्ताक्षर नक्कल गरेर बैङ्कबाट यसरी निकालियो लाखौँ रकम

काठमाडौँ । विभिन्न बैङ्कमा खाता खोलेर अरुको हस्ताक्षर नक्कल गरी लाखौँ रुपैयाँ निकाल्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा काभ्रेपलान्चोक पाँचखाल घर भइ हाल कालीमाटी बस्ने १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षीय कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे र २१ वर्षीय अञ्जन बराल रहेका छन् । त्यस्तै, बागलुङ लगकोट नगरपालिका घर भइ काठमाडौँको बुद्धनगर बस्ने २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक जिल्लाको ज्यामिरे घर भएर हाल काठमाडौँको सुविधानगर बस्ने ३० वर्षीय गोविन्द घिमिरे रहेका छन् ।

Advertisement

जनता बैङ्कका खातावाल गोपालमान राजवहाकले आफ्नो खाताबाट पटक–पटक गरेर १९ लाख ९९ हजार रुपैयाँ निकालेको मोबाइलमा मेसेज आएपछि गत मङ्सिर ८ गते प्रहरीलाई उजुरी गरेका थिए ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सूचना प्राप्त गर्न साथ परिसरको विशेष टोलीले सम्बन्धित बैङ्कका उच्च पदाधिकारीसँग छलफल गरेका थिए ।पीडितको खाता जाँच गर्दा पीडितलाई दिएको चेकबुक बाहिरबाट नयाँ चेकबुक निकाल्न सफल भइ नयाँ चेकबाट पैसा निकाल्न सफल भएको पाइएको थियो ।

खोजतलास गर्ने क्रममा मंसिर ९ गते पीडितको खाताबाट पैसा निकाल्न पुनः चेक बोकेर एक जना व्यक्ति जनता बैङ्क न्युरोड शाखामा पुगेको सूचना प्रहरीले पाएको थियो ।

प्रहरीले ती व्यक्तिलाई पक्राउ गरी थप सोधपुछ पछि थप ५ पाँच जनालाई पक्राउ गरिएको थियो ।
उनीहरुको साथबाट १८ लाख ५० हजार नगद, विभिन्न बैङ्कहरुको ठूलो परिणाममा चेकबुक, खाता खोल्न तयार रहेका फर्महरु, एनआइसी बैंकका भिषा कार्ड, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी, प्रयोग भएका हस्ताक्षरका नक्कलहरु बरामद गरिएको छ ।

६ जनामाथि बैङ्किङ कसुरसम्बन्धी मुद्दामा पाटन उच्च अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

अभियुक्तहरुले बैङ्कमा खाता रहेका विभिन्न व्यक्तिहरुको चेकमा रहेको हस्ताक्षर चोरी सोही व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ चेक बुक निकाल्ने र हस्ताक्षर मिलाइ लाखौँ रुपैयाँ निकाल्न सफल भएको प्रहरीको भनाइ छ ।

कयौँ व्यक्तिहरुको नाममा रहेको खाताको सयौँ थान सक्कली चेकसमेत लिन सफल भएको देखिएको साथै सो खातावालहरुको सक्कली भिषा कार्डसमेत बनाइ प्रयोगमा ल्याएको देखिएकोले सम्बन्धित बैङ्कका कर्मचारीहरुको मिलोमतो तथा लापरवाही समेत देखिएको हुँदा यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

उनीहरुले हालसम्म कति रकम झिक्न सफल भए भन्ने सम्बन्धमा सम्बन्धित बैङ्कहरुसँग बझ्ने तथा अनुसन्धान गर्ने काम भइरहेको प्रवक्ता बोगटीले जानकारी दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article