स्वास्थ्य
हल्दिबारी संवाददाता १० महिना अगाडि

स्तन क्यान्सरबारे सचेतना : बीएनसी र पूर्वाञ्चल क्यान्सर अस्पतालको संयुक्त पहल

बिर्तामोड । स्तन क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यका साथ बिर्तामोड न्युरो क्लिनिक (बीएनसी) र पूर्वाञ्चल क्यान्सर अस्पतालले संयुक्त रूपमा विशेष सचेतना कार्यक्रम सम्पन्न गरेका छन्।

Advertisement

पूर्वाञ्चल क्यान्सर अस्पतालको सभाहलमा सम्पन्न कार्यक्रममा स्तन क्यान्सरका कारण, लक्षण र रोकथामका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

Advertisement

शल्य क्यान्सर विभागका प्रमुख डा. मुक्ति देवकोटाले हरेक वर्ष विश्वभर करिब १० लाखभन्दा बढी महिलामा नयाँ स्तन क्यान्सरका बिरामी देखिने बताएका छन्। विशेषगरी ४० वर्षभन्दा माथिका महिलामा यसको जोखिम उच्च हुने उहाँको भनाइ थियो।

डा. देवकोटाका अनुसार वंशाणुगत जिनमा हुने परिवर्तन, असामान्य महिनावारी चक्र, स्तनको बाक्लोपन र विकिरण उपचारको प्रभाव स्तन क्यान्सरका प्रमुख जोखिम कारक हुन्।

उहाँले भने, “हरेक स्तन गाठा क्यान्सर हुँदैन, तर कुनै पनि असामान्य परिवर्तन देखिएमा तुरुन्त परीक्षण गरिनुपर्छ।”

कार्यक्रममा अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले पछिल्ला वर्षमा क्यान्सरका बिरामी तीव्र गतिमा बढ्दै गएको र समयमै परीक्षण र सचेतना अभियान आवश्यक रहेको बताए।

गत वर्ष मात्र पूर्वाञ्चल क्यान्सर अस्पतालमा १,११९ नयाँ क्यान्सर बिरामीको उपचार गरिएको थियो।

कार्यक्रमकी अध्यक्ष तथा संस्थापक अञ्जली कार्की प्रसाईले समाजमा रहेको “क्यान्सर लागेपछि बाँचिँदैन” भन्ने भ्रम तोड्न सबैको साझा प्रयास आवश्यक रहेको बताइन्।

स्वास्थ्य बीमा बोर्डकी प्रतिनिधि लक्ष्मी कँडेल, इनर व्हिल क्लबकी अध्यक्ष लुना शिवाकोटी, र डा. ज्योति भाजु लामा लगायतले पनि स्वास्थ्य सचेतनाबारे सम्बोधन गरेका थिए।

डा. लामाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि HPV भ्याक्सिन ९ देखि १३ वर्षका बालिकालाई लगाउनुपर्ने सन्देश दिइन्।

कार्यक्रममा बिर्तामोडका विभिन्न महिला समूहका ७० भन्दा बढी सहभागी महिलाहरूको उपस्थिति रह्यो।

अन्त्यमा आयोजकहरूले यस्तो सचेतना कार्यक्रमले महिलाहरूमा क्यान्सरबारे ज्ञान र आत्मविश्वास बढाउने विश्वास व्यक्त गरे।

पूर्वाञ्चल क्यान्सर अस्पताल हाल “मुस्कुराउँछ नयाँ जीवन” भन्ने नाराका साथ क्यान्सर बिरामीहरूको उपचार र पुनःस्थापनामा निरन्तर सेवा गर्दै आएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article