झापा । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले हराउँदै स्पेन १६ वर्षपछि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार भएको खेलको ३०औँ मिनेटमा फाबियान रुइजले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ४१औँ मिनेटमा बेल्जियमका चार्ल्स डे केटेलाएरले टिमोथी कास्टाग्नेको क्रसलाई उत्कृष्ट हेडमार्फत गोलमा परिणत गरेपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि खेलको ८८औँ मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनको जित सुनिश्चित गरे।
सन् २०१० को विश्वकप विजेता स्पेनले अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ। फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने दाउमा छ भने स्पेन १६ वर्षपछि उपाधि नजिक पुग्ने रणनीतिमा मैदान उत्रिनेछ।
