मेचीनगर (झापा)— डिभिजन वन कार्यालय झापाको गाडीको ठक्करबाट झापाको मेचीनगरमा आइतबार बिहान एक महिलाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–१५ कालिकास्थित भित्री सडक खण्डमा काँकरभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र.१-०१-००२ ह.७८०५ नम्बरको सिटी सफारीलाई विपरीत दिशाबाट आउँदै गरेको वन कार्यालयको बागमती प्र.०१-००२ झ.७३६० नम्बरको स्कारपियो गाडीले ठक्कर दिएको थियो ।

दुर्घटनामा सिटी सफारीमा सवार मेचीनगर–१५ की ४० वर्षीया आरती उराउ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।
दुर्घटनालगत्तै फरार रहेको स्कारपियो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक (डीएसपी) निषेश चापागाईंको कमाण्डमा खटिएको टोलीले मेचीनगर–४ बाहुनडाँगीबाट गाडीसहित चालक भद्रपुर नगरपालिका–१० का ५४ वर्षीय लीला श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
यस्तै, सिटी सफारी र त्यसका चालक मेचीनगर–६ का ४५ वर्षीय गम्भीर प्रसाद बातरलाई प्रहरी चौकी ज्यामिरगढीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
