haldibari.com
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

शिक्षाको उज्यालो र गुरुप्रतिको अनन्त नमन: गुरु पूर्णिमाको पावन सम्झना

– नेत्रविक्रम बिमली

Advertisement

​आज गुरु पूर्णिमा। जीवनको पहिलो अक्षर चिनाउने आमा-बुबा, अज्ञानताको अन्धकारबाट ज्ञानको उज्यालोतर्फ डोर्याउने श्रद्धेय गुरुवर्ग र मेरो शैक्षिक, सामाजिक तथा बौद्धिक यात्राको जग बसाल्ने सम्पूर्ण पथप्रदर्शकहरूप्रति भक्तिभावपूर्ण शब्द-सुमन अर्पण गर्दछु। साथै, भौतिक रूपमा हामीमाझ नरहनुभएका, तर ज्ञान र संस्कारको अमर ज्योति छाडेर देवलोक हुनुभएका सम्पूर्ण दिवङ्गत गुरुहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।

Advertisement

बाल्यकालका गोरेटो र हल्दीबारी माध्यमिक विद्यालय

​मेरो प्रारम्भिक शिक्षा हल्दीबारी माध्यमिक विद्यालयको आँगनबाट सुरु भई मेची बहुमुखी क्याम्पससम्म पुग्यो। बालक छँदा ‘कखरा’ को पहिलो अक्षर चिनाउनुहुने आदरणीय गुरु दर्पनारायण सर र कडा अनुशासनको जगमा उभ्याएर अघि बढ्न सिकाउनुहुने आदरणीय नरेन्द्र कुमार कार्की सरको सम्झना आज विशेष रूपमा मानसपटलमा छाइरहेको छ। शिव सर, राम सर, र श्री सरले बाल्यकालमा देखाउनुभएको अनुशासन र मार्गनिर्देशन नै आजसम्म मेरो जीवनको सिकाइको बलियो केन्द्रविन्दु बनिरहेको छ।

प्रेरणाका पुञ्ज: दिवङ्गत रेवतीरमण नेपाल सरप्रति भावपूर्ण स्मरण

​सामाजिक गतिविधिमा मलाई अघि बढाउने, मेरो क्षमता पहिचान गरी यो अवस्थासम्म पुर्याउने मुख्य प्रेरणाका स्रोत मेरा आदरणीय गुरु रेवतीरमण नेपाल सर हुनुहुन्थ्यो। आज हल्दीबारी माविका पूर्व विद्यार्थीहरूले गुरुहरूलाई सम्मान गरिरहँदा, नेपाल सरले स्वर्गबाटै हामीलाई स्नेहपूर्ण आशीर्वाद बर्साइरहनुभएको पावन आभास भइरहेको छ।

​विद्यालयमा कक्षा चारमा पढ्दा Red Cross को सदस्य भई जिल्ला तथा राष्ट्रिय स्तरका जुनियर रेडक्रस सेमिनारहरूमा सहभागी हुने र विद्यालयको नाम उच्च राख्ने अवसर मैले पाएँ। त्यो सामाजिक चेतना र आज म जुन पत्रकारिताको यात्रामा छु, त्यसको मुख्य जग बसालिदिने मेरो जीवनका मार्गदर्शक नेपाल सर आज हामीमाझ नहुँदा मन अत्यन्त भावविह्वल बनेको छ। विधिको विधानलाई कसैले टार्न सक्दैन, तर जीवनका कठिन गोरेटोहरूमा सरको माया, स्नेह र ममताको खड्को सधैँ रहिरहनेछ। गुरुवर! हजुरले दिनुभएको त्यो शिक्षा, इमान्दारिता र सामाजिक सेवाको मर्मलाई जीवनभर अंगाल्दै हजुरको शिर कहिल्यै झुक्न नदिने प्रण आजको दिन गर्दछु।

समर्पण, कृतज्ञता र आशीर्वादको शृङ्खला

​२०४७ सालका विद्यार्थी भाइहरूले आयोजना गरेको यो भव्य एवं सम्मानजनक कार्यक्रममा मलाई सहभागी गराई आदरणीय गुरुहरू नरेन्द्र सर, कमल सर, धनबहादुर सर ,निर्मल सर, बद्री सर, भीष्म सर, श्री सरभीम सरबाट आशीर्वाद ग्रहण गर्ने सुअवसर जुराइदिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु।

​यस पवित्र कार्यक्रमका संयोजक, हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सर लगायत सम्पूर्ण समकालीन विद्यार्थी भाइ-बहिनीहरूप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु। आज तपाईंहरूले गर्नुभएको यो कार्य एउटा सच्चा विद्यार्थीले गुरुप्रति अर्पण गर्ने उच्च आदर र समर्पणको प्रतीक हो।

​हामी आज जीवनका विभिन्न आयाम र क्षेत्रमा कार्यरत भए पनि गुरुहरूले रोपिदिनुभएको ज्ञानको बीउकै कारण सम्भव भएको हो। उहाँहरूले दिनुभएको आशीर्वाद नै हाम्रो जीवनको परम लक्ष्य, मार्गदर्शन र इमान्दारिताको आधारस्तम्भ हो।

​पुनः सम्पूर्ण गुरुजनहरूप्रति नमन र दिवङ्गत गुरुहरूप्रति अश्रुपूर्ण श्रद्धाञ्जली!

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article