झापा । झापाको बाह्रदशी गाउँपालिका वडा नं. २, बुट्टाबारीस्थित भगवती आधारभूत विद्यालयलाई चार थान सिसी (CC) क्यामेरा हस्तान्तरण गरिएको छ। स्थानीय युवा व्यवसायी तथा समाजसेवी चान मोहम्मदको सक्रियता एवं ओमप्रकाश बुढाथोकीको परिवारको सहयोगमा उक्त क्यामेरा विद्यालयलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रमकी प्रमुख अतिथि, झापा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले सीमित जनशक्तिका बीच प्रहरीले मात्र सम्पूर्ण सुरक्षा चुनौती समाधान गर्न नसक्ने स्पष्ट पार्नुभयो। खुला सीमानाका कारण बढ्दो चोरी-तस्करी तथा विशेष गरी साना बालबालिकाहरूमाझ फैलिँदै गएको लागूऔषध दुर्व्यसन न्यूनीकरण गर्न समाजका हरेक नागरिक जागरुक भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।


एसपी खड्काले चान मोहम्मद र ओमप्रकाश बुढाथोकीजस्ता युवाहरूको यो कदमले समाजलाई सकारात्मक दिशा देखाएको उल्लेख गर्दै भन्नुभयो, “प्रहरीको उपस्थिति कम भएका स्थानहरूमा सिसी क्यामेरा जडान हुनुले अपराध नियन्त्रण र सुरक्षा सुदृढीकरणमा ठूलो मद्दत पुर्याउँछ। यस्ता उदाहरणीय कार्यमा सम्पूर्ण समुदाय एकजुट हुनु आजको नितान्त आवश्यकता हो।”
दाता चान मोहम्मदका अनुसार बाह्रदशी गाउँपालिकाका अन्य सबै सामुदायिक विद्यालयहरूमा पनि दाताहरूको सहयोग जुटाएर क्रमशः सिसी क्यामेरा जडान गर्दै लैजाने लक्ष्य राखिएको छ।

वडा नं. २ का वडाध्यक्ष भीमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि एसपी खड्का तथा वडाध्यक्ष कार्कीले दाताहरूलाई अबिर तथा खादा ओढाएर सम्मान गर्नुभएको थियो।
कार्यक्रममा वडा सदस्य युवराज ढकाल, दाता चान मोहम्मद, समाजसेवी विष्णु भट्टराई, थिलकुमार दाहाल तथा दाता परिवारका अमृतबहादुर बुढाथोकीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। विद्यालयका शिक्षक महेशकुमार विष्टले स्वागत मन्तव्य राख्नुभएको उक्त समारोहको सञ्चालन विद्यालयका प्रधानाध्यापक घनश्याम उप्रेतीले गर्नुभएको थियो। सो अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।
