झापा : झापाको हल्दीबारी गाउँपालिकास्थित जलथल स्वास्थ्य चौकी र त्यहाँ कार्यरत स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरू सम्मानित भएका छन्। न्यूनतम स्वास्थ्य सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा ९१ प्रतिशत अङ्क प्राप्त गर्दै गाउँपालिकामा प्रथम र जिल्लाभरिमै दोस्रो स्थान हासिल गरेपछि उनीहरूलाई सम्मान गरिएको हो।

स्वास्थ्य कार्यालय झापाले प्रदान गरेको उक्त सम्मानपत्र मंगलबार स्वास्थ्य चौकी परिसरमै आयोजित एक विशेष कार्यक्रमका बीच हस्तान्तरण गरियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, वडा अध्यक्ष सन्तकुमार थापा र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले संयुक्त रूपमा स्वास्थ्य चौकी इन्चार्ज माधवप्रसाद यादव, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा व्यवस्थापन समितिका पदाधिकारीहरूलाई बधाई दिँदै सम्मान पत्र प्रदान गरे।
गाउँपालिकाभित्र सञ्चालित ३ वटा स्वास्थ्य चौकीमध्ये उत्कृष्ट कार्यसम्पादन गर्दै जलथलले यो सफलता चुमेको हो।

सो क्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत वन र वडा अध्यक्ष थापाले सीमित स्रोत-साधन र पूर्वाधारका बाबजुद सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन स्वास्थ्य टोलीले देखाएको लगनशीलताको प्रशंसा गरे। अहोरात्र खटिने स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूको सामूहिक प्रयासकै कारण हल्दीबारीले जिल्लामै साख उच्च बनाएको बताउँदै उनीहरूले आगामी दिनमा पनि सेवाको स्तरलाई अझ सुदृढ र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाए।
