हल्दीबारी, झापा — हल्दीबारी गाउँपालिकाले बजारलाई व्यवस्थित र उपभोक्ता अधिकार सुरक्षित बनाउने उद्देश्यका साथ अनुगमन अभियानलाई तीव्र पारेको छ। सोही क्रममा गाउँपालिकाको टोलीले हल्दीबारी–४ स्थित बडावारी क्षेत्रका २० भन्दा बढी किराना, हार्डवेयर, कपडा, खाजा घर तथा सैलुनहरूको अनुगमन गरेको छ।

अनुगमनका क्रममा अधिकांश पसलहरू बिनादर्ता तथा आवश्यक कानुनी कागजातबिना नै सञ्चालित रहेको पाइएको छ। गाउँपालिकाका प्रशासन शाखा प्रमुख बाबुराम ढकालका अनुसार बजार अनुगमनका क्रममा व्यवसायहरू सबैभन्दा बढी लथालिङ्ग अवस्थामा सञ्चालन भइरहेको भेटिएको हो।

मापदण्ड विपरीत सञ्चालित त्यस्ता पसलहरूलाई आगामी २५ गतेभित्र गाउँपालिकामा दर्ता भई प्रक्रिया पुर्याएर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिनुभयो। साथै अनुगमन टोलीले सम्बन्धित व्यवसायीहरूलाई मूल्यसूची, होल्डिङ बोर्ड, बिल/रसिद र अन्य आवश्यक कानुनी कागजातहरू २५ गतेभित्रै गाउँपालिकामा पेस गर्न समयसीमा तोकेको छ।
आजदेखि सुरु भएको यो अभियानलाई पालिकाभित्रका अन्य बजारहरूमा पनि निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ। अब क्रमशः गोलधाप, कञ्चनश्री, पाराखोपी र लक्ष्मी स्कुलचोक बजारका पसलहरूको समेत अनुगमन गरिनेछ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको नेतृत्वमा भएको उक्त अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, गाउँपालिकाका विभिन्न शाखा प्रमुख, सुरक्षाकर्मी, स्थानीय उद्योग वाणिज्य संघका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
