बिनोद कुमार दाहाल ,काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब साढे पाँच महिनाको उपचारपछि हङकङ हुँदै बिहीबार दिउँसो स्वदेश फर्किएका छन्। गत वर्ष भदौ २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा साङ्घातिक आक्रमणबाट गम्भीर घाइते भएका देउवा उपचारका लागि गत फागुन १३ गते सिंगापुर गएका थिए।

थाई एयरलाइन्सबाट धर्मपत्नी डा. आरजु राणासहित स्वदेश फर्किएका देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली कांग्रेसका शीर्ष नेता तथा कार्यकर्ताहरूको ठूलो उपस्थिति रहेको थियो। स्वागतका लागि डा. शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्कालगायतका नेताहरू विमानस्थल पुगेका थिए। विमानस्थल बाहिर निस्किएपछि देउवाले बाजागाजा र सांस्कृतिक झाँकीसहित उपस्थित समर्थकहरूलाई गाडीको ‘सनरुफ’बाट अभिवादन गरेका थिए।

स्वदेश फर्किएलगत्तै एक विज्ञप्ति जारी गर्दै देउवाले आफू शक्ति प्राप्तिका लागि नभई सर्वपक्षीय राष्ट्रिय एकता सुदृढ गर्न र देशको सेवाका लागि फर्किएको स्पष्ट पारेका छन्। आफू नेता बनेर नभई यस महान् राष्ट्रको आजीवन नागरिक बनेर सेवा गर्न तत्पर रहेको बताउँदै उनले कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको उल्लेख गरे। राजनीतिमा अब आफूले व्यक्तिगत रूपमा केही लिनु नरहेको र विगतको अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो मुख्य दायित्व भएको उनको भनाइ छ।
विसं २०३३ मा बीपी कोइरालाले मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसङ्ग स्मरण गर्दै देउवाले अहिलेको राजनीतिक परिस्थितिमा पनि देशलाई मजबुत बनाउन सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता औँल्याएका छन्। पार्टीभित्र देखिएको असहमति र निराशालाई तुरुन्त समाधान गरी नेता-कार्यकर्ताको मनोबल बढाउनुपर्नेमा जोड दिएका देउवाले संस्थापनइतर पक्षले आयोजना गर्न लागेको तीन दिने राष्ट्रिय भेलाको शुक्रबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
