अभिषेक खतिवडा / हल्दिबारी । पछिल्लो समय लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस तथा डेङ्गु रोगको जोखिमलाई मध्यनजर गर्दै हल्दिबारी गाउँपालिका स्वास्थ्य शाखाको अगुवाइमा हल्दिबारी–३ स्थित चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालय र श्री पञ्चायत माध्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारलाई रोगको जोखिम, लक्षण, संक्रमणबाट बच्ने उपाय तथा रोकथामका विषयमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्वास्थ्यकर्मी अनुष्का केसी र मिलन उप्रेतीले सहजीकरण गरेका थिए।

कार्यक्रममा जापानिज इन्सेफलाइटिस तथा डेङ्गु रोग कसरी सर्छ, रोग लाग्दा देखिन सक्ने प्रमुख लक्षणहरू के–के हुन् र संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानीका विषयमा विस्तृत जानकारी दिइएको थियो। साथै, लामखुट्टेको वृद्धि तथा प्रजनन रोक्न घर, विद्यालय र समुदाय आसपास पानी जम्न नदिने, फोहोर व्यवस्थापनमा ध्यान दिने, पानीका भाँडाकुँडा नियमित सफा गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्न आवश्यक सावधानी अपनाउने विषयमा समेत विद्यार्थीहरूलाई सचेत गराइएको थियो।
स्वास्थ्यकर्मीहरूले रोगका सम्भावित लक्षण देखिएमा घरमै बसेर उपचार गर्ने वा बेवास्ता गर्नुको सट्टा समयमै नजिकको स्वास्थ्य संस्थामा गई आवश्यक स्वास्थ्य जाँच तथा उपचार गराउन आग्रह गरेका थिए।
कार्यक्रमले विद्यार्थीहरूमा जापानिज इन्सेफलाइटिस तथा डेङ्गु रोगसम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्नुका साथै विद्यार्थीमार्फत घरपरिवार तथा समुदायसम्म स्वास्थ्यसम्बन्धी सकारात्मक सन्देश पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
हल्दिबारी गाउँपालिका स्वास्थ्य शाखाले ‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम’ भन्ने सन्देशसहित समुदायस्तरमा रोगको रोकथाम तथा जनचेतना अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ।