haldibari.com
हल्दिबारी संवाददाता १ दिन अगाडि

हल्दीबारीमा “स्थानीय शक्ति दीर्घकालीन विकास” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

सान्ता उप्रेती । झापाको हल्दीबारीमा जेसीसको आयोजनामा “स्थानीय शक्ति दीर्घकालीन विकास” विषयक( speech star Season -2) सिजन-२ वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

Advertisement

हल्दीबारी गाउँपालिका वडा नम्बर १ स्थित वडा कार्यालयको प्राङ्गणमा आयोजित उक्त प्रतियोगितामा गाउँपालिकाभित्रका सरकारी तथा निजी गरी १८ वटा विद्यालयका छात्रछात्राको उत्साहजनक सहभागिता रहेको थियो। हल्दीबारी जेसीसका अध्यक्ष नितेश खरेलको सभाध्यक्षता तथा वडा नम्बर १ का वडाध्यक्ष देवीबहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जेसीसका कानुनी सल्लाहकार योगेश कार्कीले विषयवस्तुमा आधारित रहेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

Advertisement

समारोहमा हल्दीबारी जेसीसकी संस्थापक अध्यक्ष युनिता दवाडी, वडा नम्बर २ का वडाध्यक्ष सुकलाल राजवंशी, प्रमुख अतिथि देवीबहादुर थापा र जेसीसका कार्यकारिणी उपाध्यक्ष प्रायुष पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रतियोगिताको निष्पक्ष मूल्याङ्कनका लागि गोमेन्द्र क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डाक्टर रूपक खनाल , त्रिदेव क्याम्पसकी सहायक प्राचार्य सावित्रा दाहाल र स्काइ क्रिएटर एन्ड सर्भिस प्राइभेट लिमिटेडका अध्यक्ष सन्दिप राजवंशी निर्णायकको भूमिकामा रहनुभएको थियो।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको वक्तृत्वकला प्रतियोगितामा गोलधाप सनसाइन बोर्डिङकी दिया पौडेल प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ। यस्तै दिपेन्द्र आविकी सन्ध्या रजत द्वितीय, सिग्मा अङ्ग्रेजी विद्यालयकी प्रनिशा बजगाईं तृतीय र क्यानरी एकेडेमीकी अलिसा बरालले चौथो स्थान प्राप्त गर्नुभएको छ। विजयी तथा सहभागी सम्पूर्ण विद्यार्थीलाई ट्रफी, पुरस्कार एवम् प्रमाणपत्र वितरण गरिएको थियो। प्रतियोगिताको पुरस्कार तथा व्यवस्थापनका लागि पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समिति (हल्दीबारी-४), समाजसेवी शैलेन्द्र सिटौला र रोड साइड क्याफे गोलधापका रिङ्कु शेर्पाले प्रायोजन गर्नुभएको थियो।

कार्यक्रमका अवसरमा उपस्थित अतिथि, शिक्षक तथा सहभागी विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो। सोही क्रममा संस्कारा शिक्षा सदनका कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूले आफैँ निर्माण गरेको नुहाउने साबुनसमेत सहभागीहरूलाई वितरण गरेर उनीहरूको सिर्जनात्मक क्षमताको प्रदर्शन गरिएको थियो। हल्दीबारी जेसीसका महासचिव अनिल चौहानले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सभाध्यक्ष नितेश खरेलले सहभागी, प्रायोजक तथा सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article