शिक्षा
हल्दिबारी संवाददाता १ दिन अगाडि

हल्दीबारीका पूर्वविद्यार्थीद्वारा बाबुआमाका नाममा ५ लाखको अक्षयकोष स्थापना

झापा । हल्दीबारी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूले आफ्ना आमाबुवाको नाममा ५ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन् ।

Advertisement

​हल्दीबारी गाउँपालिका–२ निवासी स्वर्गीय टेकबहादुर चम्लागाईं र आमा भोलादेवी चम्लागाईंको स्मृति तथा सम्मानमा उनीहरूका सन्तानले उक्त कोषको स्थापना गरेका हुन् ।

Advertisement

​विद्यालयमा आयोजित एक कार्यक्रमका बीच पूर्वविद्यार्थीहरू ज्ञानेन्द्रकुमार चम्लागाईं, फडेन्द्रकुमार चम्लागाईं, मुनादेवी चम्लागाईं (थापा), चम्पादेवी चम्लागाईं (ओली) र माया चम्लागाईं (थापा) ले ५ लाख रुपैयाँको चेक प्रधानाध्यापक टङ्कबहादुर पाख्रिनलाई हस्तान्तरण गरे ।

​उक्त अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । नेपाली र अङ्ग्रेजी माध्यमका एक/एक जना गरी वार्षिक १० जना विद्यार्थीलाई दामासाहीका हिसाबले छात्रवृत्ति रकम वितरण गरिने विद्यालय प्रशासनले जनाएको छ ।

​चेक हस्तान्तरण गर्दै परिवारका ज्येष्ठ सुपुत्र ज्ञानेन्द्रकुमार चम्लागाईंले आफूहरूले पढेको विद्यालयका भाइबहिनीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्वर्गीय बुवाको पुण्यस्मृति र आमाको सम्मानमा कोष स्थापना गरिएको बताए ।

​विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर पाख्रिनले आफ्ना जन्मदाताको नाममा अक्षयकोष स्थापना गरेर विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउनु प्रशंसनीय कार्य भएको बताए । दाताहरूबाट प्राप्त अक्षयकोषको ब्याजबाट वार्षिक उत्सवका दिन विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्दै आइएको जानकारी पनि उनले दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article