समाचार
जनक राजवंशी १ घण्टा अगाडि

हिंसाको अँध्यारोविरुद्ध मानवताको दीप बाल्दै हल्दिबारीमा चिल्ड्रेन गार्डेन पूर्व विद्यार्थी समाज

Advertisement

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका–३ मा रहेको चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयमा सामाजिक हित तथा पूर्व विद्यार्थीबीच आपसी एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले गठन गरिएको चिल्ड्रेन गार्डेन पूर्व विद्यार्थी समाज पछिल्लो समय थप सक्रिय बन्दै गएको छ।

Advertisement

समाजको आयोजनामा आइतबार हल्दिबारी–४ स्थित वडाबारी चोकमा रहेको वडा कार्यालयको प्राङ्गणमा “हिंसाको अँध्यारोविरुद्ध मानवताको दीप बालौँ” भन्ने सन्देशसहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। मुलुकका विभिन्न स्थानमा भइरहेका जघन्य तथा अमानवीय घटनाप्रति ऐक्यबद्धता जनाउँदै शान्ति, सम्मान, न्याय र सुरक्षित समाजको कामना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक लक्ष्मीदेवी मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मनोज सुवेदी, आधारभूत स्वास्थ्य चौकी हल्दिबारी–३ का प्रमुख मिलन उप्रेती, जलथल प्रहरी चौकीका प्रमुख छबिहाङ शेर्मालगायत समाजका अगुवा, बालबालिका, युवा–युवती तथा पूर्व विद्यार्थी समाजका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै पूर्व विद्यार्थी समाजका अध्यक्ष अभिषेक खतिवडाले समाजमा बढ्दै गएका जघन्य तथा अमानवीय अपराधलाई कुनै पनि बहानामा ढाकछोप गर्न नहुने बताउँदै यस्ता घटनाविरुद्ध सबै एकजुट भएर आवाज उठाउनुपर्ने धारणा व्यक्त गरे।

उनले नेपालका विभिन्न जिल्लामा घटिरहेका अमानवीय घटनाबाट पीडितप्रति ऐक्यबद्धता जनाउँदै शान्तिको कामनासहित हल्दिबारीमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको बताए। हल्दिबारी धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै खतिवडाले पाथीभरा, साकेला थान, दूधकन्या तथा स्वर्गद्वारी मन्दिरजस्ता पवित्र स्थलहरूको भूमिमा बालिएको दीपले देशका ७७ वटै जिल्लामा शान्ति, सद्भाव र मानवताको कामना गरेको बताए।

कार्यक्रमकी प्रमुख अतिथि उपाध्यक्ष मैनालीले जघन्य अपराधमा संलग्न व्यक्ति जोसुकै भए पनि कानुनको दायरामा ल्याई निष्पक्ष छानबिन तथा कानुनी कारबाही गर्नुपर्ने बताइन्। उनले सामाजिक विकृति, हिंसा तथा अमानवीय घटनाविरुद्ध सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरेकोमा पूर्व विद्यार्थी समाजलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिन आग्रह गरिन्।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मैनालीले दीप प्रज्वलन गरेर गरेकी थिइन्। त्यसपछि कार्यक्रममा सहभागी सबैले दीप प्रज्वलन गर्दै हिंसामुक्त, शान्तिपूर्ण, सम्मानजनक र न्यायपूर्ण समाज निर्माणको कामना गरे।

पूर्व विद्यार्थी समाजका अध्यक्ष अभिषेक खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका सचिव टिकाराम ढकालले गरेका थिए। सामाजिक उत्तरदायित्व, पूर्व विद्यार्थीबीचको एकता र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यसहित समाजले आगामी दिनमा पनि विभिन्न सामाजिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

Advertisement

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article