समाचार
जनक राजवंशी १ घण्टा अगाडि

वार्षिकोत्सवको खुसी त्यागेर पीडितको आँसु पुछ्‌दै मेम्सा नेपाल

झापा । जहाँ वार्षिकोत्सव भन्नासाथ तडकभडक, केक काट्ने, मनोरञ्जन र उत्सवको खर्च सम्झिने गरिन्छ, त्यहीँ झापामा सक्रिय मेचीमहाकाली बुहारी संयुक्त आवाज (मेम्सा नेपाल) ले भने यस वर्ष आफ्नो वार्षिकोत्सवलाई मानव सेवासँग जोडेर फरक र अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ।

Advertisement

संस्थाले आगामी भदौ १९ गते मनाउन लागेको वार्षिकोत्सवमा हुने अनावश्यक तडकभडक, केक काट्ने तथा मनोरञ्जनमा खर्च गर्ने रकमलाई विपद्पीडित नागरिकको सहयोगमा प्रयोग गर्ने निर्णय गरेको हो। वार्षिकोत्सव कार्यक्रमका लागि छुट्याइएको खर्चबाट बचत भएको रु. ४० हजार ५०५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ। मेम्सा नेपालको केन्द्रीय संस्था तथा संस्थापक अध्यक्ष, कोशी प्रदेश समिति, झापा जिल्ला समिति र दमक उपशाखा कार्यसमितिको संयुक्त आयोजनामा वार्षिकोत्सव मनाउने तयारी गरिएको थियो। तर देशका विभिन्न स्थानमा बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्का कारण नागरिकहरू पीडा र समस्यामा परिरहेका बेला आफ्नो संस्थागत खुसी र उत्सवमा मात्र रकम खर्च गर्नु उपयुक्त नहुने निष्कर्षमा संस्थाका पदाधिकारीहरू पुगेका थिए। त्यसपछि वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रम, मनोरञ्जन र रमाइलोमा सीमित नराखी मानवता र सामाजिक उत्तरदायित्वसँग जोड्ने निर्णय गरिएको संस्थाले जनाएको छ।
“आफ्नो खुसीमा खर्च हुने रकम पीडितको आँसु पुछ्न प्रयोग गरौँ” भन्ने मानवीय सन्देशसहित मेम्सा नेपालले यस वर्षको वार्षिकोत्सवलाई विपद्पीडित नागरिकप्रतिको ऐक्यबद्धता र सेवाभावमा समर्पित गरेको हो।

Advertisement

संस्थाका अनुसार वार्षिकोत्सव केवल आफ्नो उपलब्धि सम्झने, केक काट्ने र खुसी साटासाट गर्ने अवसर मात्र होइन। समाजमा दुःख र पीडामा परेका नागरिकप्रति आफ्नो जिम्मेवारी पूरा गर्ने अवसर पनि हो। यही भावनालाई आत्मसात् गर्दै यस वर्ष उत्सवमा खर्च हुने रकम बचाएर विपद्पीडितका लागि सहयोग गरिएको हो। देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्तिका कारण धेरै नागरिकले घरपरिवार, सम्पत्ति तथा आफ्ना प्रियजनसमेत गुमाइरहेका बेला सामाजिक संघसंस्थाहरूले पनि मानवीय सेवामा हातेमालो गर्नुपर्ने आवश्यकता रहेको मेम्सा नेपालको भनाइ छ।
संस्थाले केक काटेर केही क्षणको उत्सव मनाउनुभन्दा दुःख र पीडामा रहेका नागरिकको घाउमा मलम लगाउने प्रयास गर्नु नै आफ्नो वार्षिकोत्सवको सबैभन्दा ठूलो उपलब्धि भएको जनाएको छ।

वार्षिकोत्सवको नाममा हुने खर्चलाई कटौती गरी विपद्पीडित नागरिकको सहयोगमा रकम प्रदान गर्ने मेम्सा नेपालको यो पहलले सामाजिक संस्थाको वास्तविक दायित्व केवल कार्यक्रम आयोजना गर्नुमा मात्र सीमित नभई आवश्यकता परेको बेला समाजको दुःखमा साथ दिनु पनि हो भन्ने सन्देश दिएको छ। आफ्नो खुसीभन्दा अरूको पीडालाई प्राथमिकता दिँदै मेम्सा नेपालले यस वर्षको वार्षिकोत्सवलाई उत्सवभन्दा माथि उठाएर मानवता, सेवा र सामाजिक उत्तरदायित्वको पर्वका रूपमा स्थापित गरेको छ।

Advertisement

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article