काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै सोमबार देशभर राष्ट्रिय शोक मनाइएको छ।

शोकका अवसरमा नेपालभरका सरकारी कार्यालयका साथै विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। सिंहदरबारस्थित मन्त्रालय परिसर तथा देशका प्रमुख प्रशासनिक निकायहरूमा बिहानैदेखि राष्ट्रिय झण्डा आधा झुकाएर बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान प्रकट गरिएको छ।

भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले रसुवा सीमानाका क्षेत्रको भोटेकोशी नदीमा आएको भिषण बाढीमा परी अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो।
भदौ १० गते आएको लेदोसहितको विनाशकारी बाढीले रसुवाको सीमावर्ती क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएको थियो।
