झापा : भोटेकोशी नदी तथा त्यसको तल्लो तटीय क्षेत्रमा आएको विनासकारी बाढीबाट प्रभावितहरूका लागि झापाको हल्दीबारी गाउँपालिकाले रु. २५ लाखभन्दा बढी राहत रकम सहयोग गर्ने निर्णय गरेको छ।

गाउँपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा २५ लाख ९१ हजार ७ सय ५० रुपैयाँ जम्मा गर्ने निर्णय भएको जनाएको हो।

गाउँपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट रु. २ लाख विनियोजन गरिएको छ। यस्तै, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, कार्यपालिका तथा वडा सदस्यहरूको ७ दिनको सेवा-सुविधा वापतको रु. ८७ हजार ७ सय ३२ कटौटी गरिएको छ।
यसैगरी, गाउँपालिका मातहतका कर्मचारीहरूबाट रु. ७ लाख ९८ हजार २ सय ४८ र सामुदायिक विद्यालयका शिक्षकहरूबाट रु. १५ लाख ५ हजार ७ सय ७० रुपैयाँ सङ्कलन गरिएको छ। कर्मचारी तथा शिक्षकहरूको हकमा अधिकृतस्तरका लागि ७ दिन, सहायकस्तरका लागि ५ दिन र श्रेणीविहीन कर्मचारीहरूका लागि २ दिनको सुरु तलब स्केल बराबरको रकम कटौटी गरिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वन (महेन्द्र) द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “विपत्तिमा परेका हाम्रा नागरिकहरूलाई सङ्कटको यो बादल पन्छाएर नयाँ बिहानीतर्फ लैजान हामी सबैको सानै भए पनि ऐक्यबद्धता ठूलो सामर्थ्य बन्न सक्छ। तसर्थ, सबै जनसमुदायलाई खुला हृदयले सहयोगको हात फैलाउन हार्दिक अपिल गर्दछौँ।”
बाढीका कारण भएको ठूलो मात्राको जनधनको क्षतिप्रति गाउँपालिका परिवारले गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।
