
अभिषेक खतिवडा
झापा । भाद्र १० गते रसुवालगायत देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालय परिवारले १३औँ पुण्यतिथिको अवसरमा दीप प्रज्ज्वलनसहित शोकसभा आयोजना गरेको छ।

विपत्तिमा दिवङ्गत भएकाहरूको सम्झनामा विद्यालय परिसरमा दीप प्रज्ज्वलन गर्दै आयोजित शोकसभामा विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारको सहभागिता रहेको थियो। शोकसभामा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक दुर्गामणि गौतमले प्राकृतिक विपत्तिमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारको पीडाप्रति सहानुभूति व्यक्त गर्दै आगामी दिनमा मुलुकले यस्ता दुःखद् र विनाशकारी प्राकृतिक विपत्तिको सामना गर्न नपरोस् भन्ने कामना गर्नुभयो।
सो अवसरमा दिवङ्गतहरूको सम्मान र सम्झनामा विद्यार्थी तथा शिक्षकहरूले मौनधारण गर्दै श्रद्धासुमन अर्पण गरेका थिए। दीप प्रज्ज्वलनमार्फत विद्यालय परिवारले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति सम्मान व्यक्त गर्दै प्रभावित परिवारसँग दुःखको यस घडीमा ऐक्यबद्धता जनाएको छ।