रसुवा । भदौ १० गतेको बाढीका कारण सडक सञ्जालबाट विच्छेद बनेको रसुवाको उत्तरगया गाउँपालिका–२ का ६० घरधुरी बाढी प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत खाद्यान्न राहत सामग्री पुर्याएको छ ।


सडक पहुँच टुटेका कारण अन्य माध्यमबाट राहत सामग्री लैजान कठिन भएपछि रेडक्रसले हवाइमार्गको प्रयोग गरी राहत वितरण गरेको हो । प्रभावित परिवारलाई चिउरा, चाउचाउ, बिस्कुट तथा खाने तेललगायतका अत्यावश्यक खाद्य सामग्री प्रदान गरिएको छ ।


नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारी, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) नेपालकी श्रृंखला थापा, नेपाल सरकारका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाका मन्त्री चुडामणि अधिकारी तथा रेडक्रस स्वयंसेवकहरूको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको थियो ।

भदौ १० गते आएको बाढीले उत्तरगया गाउँपालिका–२ जोड्ने सडक बगाएपछि उक्त बस्ती पूर्ण रूपमा सम्पर्कविच्छेद भएको थियो । सडक अवरुद्ध भई उत्पन्न खाद्यान्न समस्यालाई ध्यानमा राख्दै तत्काल हवाइमार्फत राहत पुर्याइएको रेडक्रसले जनाएको छ ।
