समाचार
हल्दिबारी संवाददाता १ महिना अगाडि

भद्रपुरको सूर्य प्लाइउडमा मार्बलले थिचेर कामदारको मृत्यु

झापा, २३ भाद्र । झापाको भद्रपुरस्थित सूर्य प्लाइउड फ्याक्ट्रीमा निर्माणाधीन भवनका लागि ल्याइएको मार्बलले थिचेर एक कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–कोटेश्वर, राम मन्दिर क्षेत्रका करिब ३१ वर्षीय राजेन्द्र खड्का रहेका छन्।

​जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ स्थित फ्याक्ट्रीको नयाँ भवनका लागि मे १ ज २२१८ नम्बरको बोलेरो पिकअपबाट मार्बल झार्ने (अनलोड गर्ने) क्रममा मंगलबार दिउँसो करिब १२:४५ बजे सो दुर्घटना भएको हो। पिकअपबाट मार्बल अनलोड गर्दा एक्कासि मार्बल खसेर खड्कालाई थिचेको थियो।

​घटनामा गम्भीर घाइते भएका खड्कालाई तत्काल उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँसो २:२० बजे उनको मृत्यु भएको हो।

​घटनाको जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। मृतकका आफन्तसँग समन्वय गरी कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको र शव हाल सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)