झापा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवालगायत आसपासका क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएकामध्ये बुधबार बिहानसम्म १ हजार ३६७ जनाको शव फेला परेको छ। विपद्का कारण ५ हजार १ सय ३२ जना अझै सम्पर्कविहीन छन्।

प्राधिकरणको अद्यावधिक विवरणअनुसार चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १७४, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ। उपचारका क्रममा काठमाडौँमा थप दुई जनाको मृत्यु भएको छ।

भेटिएका शवमध्ये हालसम्म १०२ जनाको मात्र सनाखत भएको छ। सनाखत हुन बाँकी शव र फेला परेका मानव अङ्गको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा डीएनए परीक्षणको नमुना दिन सकिने व्यवस्था मिलाइएको छ।
विशाल सङ्ख्यामा बेपत्ता
विपद्पछि ५ हजार १ सय ३२ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। जसमध्ये रसुवाबाट मात्रै २ हजार ८६० जना बेपत्ता छन्। रसुवामा बेपत्ता हुनेमा स्थानीय १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, निजामती कर्मचारी ७३ र बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी छन्।
यस्तै, नुवाकोटबाट १ हजार ७८७ जना र ५८७ जना विदेशी पर्यटक अझै बेपत्ता छन्। सम्पर्कविहीनको सूचीमा उद्धार गरिएका तथा पहिचान हुन नसकेका शवसमेत समावेश भएको हुनसक्ने भन्दै विवरण रुजु गर्ने काम भइरहेको छ।
उद्धार र राहत कार्य तीव्र
हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ। विभिन्न अस्पतालमा उपचाररत ३२९ जनामध्ये २५२ जना निको भएर घर फर्किसकेका छन्।
प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ७, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरीका ४ हजार २०३ गरी कुल २१ हजार १८५ जना सुरक्षाकर्मी परिचालन भएका छन्। सेनाले १ हजार २८५ पटक र सशस्त्र प्रहरीले २५८ पटक हेलिकप्टरमार्फत उद्धार तथा राहत सामग्री ओसारपसार गरेका छन्।
प्रभावित क्षेत्रका ३७ वटा होल्डिङ सेन्टरमा ३ हजार ६२८ जनालाई राखिएको छ। सरकारले राहत स्वरूप रसुवा र नुवाकोटलाई १-१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ नगद उपलब्ध गराएको छ। सडक र हवाईमार्गबाट खाद्यान्न तथा इन्धनसहितका राहत सामग्री पठाइने क्रम जारी छ।
