हेटौँडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले दलको ह्विप उल्लङ्घन गरेको गम्भीर आरोपमा आफ्ना ५ जना प्रदेशसभा सांसदहरूलाई पदमुक्त गर्न सभामुखसमक्ष आधिकारिक सिफारिस गरेको छ।

प्राप्त जानकारीअनुसार, राप्रपा संसदीय दलका मुख्य सचेतक डम्बर तामाङले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराउँदै सांसदहरू भुवनकुमार पाठक, कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामालाई पदमुक्त गर्न माग गरेका हुन्। मुख्य सचेतक तामाङद्वारा दर्ता गरिएको पत्रमा पार्टीको विधान तथा संसदीय दलको नियमावलीअनुसार उनीहरूलाई प्रदेशसभा सदस्य पदबाट निष्कासन गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरिएको छ।

उनीहरूमाथि पार्टी केन्द्रीय समिति र बागमती प्रदेशसभा संसदीय दलको आधिकारिक निर्णयविपरीत प्रदेशसभा बैठकमा उपस्थित भई मुख्यमन्त्री किरण थापामगर नेतृत्वको सरकारलाई समर्थन गरेको र विश्वासको मत दिएको आरोप लगाइएको छ।
यसैबीच, पार्टीको निर्णय र नीतिविपरीत राप्रपाका तर्फबाट गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति र राजु विष्ट भने मन्त्रीका रूपमा मुख्यमन्त्री थापा नेतृत्वको सरकारमा सहभागी भइसकेका छन्।
