हल्दिबारी डटकम
Hover Ad Article
समाचार
जनक राजवंशी १ घण्टा अगाडि

दोहाको र्‍याडिसन ब्लुमा ‘माइती–चेली’ सांगीतिक तथा सांस्कृतिक तीज कार्यक्रम, निःशुल्क प्रवेशसँगै भव्य प्रस्तुति

दोहा, कतार। नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा शुक्रबार, सेप्टेम्बर ११, २०२६, साँझ ५ बजेदेखि राति ११ बजेसम्म Radisson Blu Hotel, Doha मा विशेष ‘माइती–चेली’ सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रम पूर्ण रूपमा निःशुल्क प्रवेश (Free Entry) सहित सञ्चालन हुनेछ।

Advertisement

कार्यक्रममा नेपालका प्रख्यात लोक तथा दोहोरी गायक खेम सेन्चुरीको विशेष सांगीतिक प्रस्तुति रहनेछ भने कतारमा स्थापित स्थानीय गायक वीरेन्द्र श्रेष्ठको समेत प्रस्तुति रहनेछ। साथै Ayusha तथा Dana Salon Team को भव्य सांस्कृतिक तथा विशेष प्रस्तुति कार्यक्रमको प्रमुख आकर्षण रहनेछ।

Advertisement

यो कार्यक्रम कुनै व्यावसायिक वा नाफामुखी उद्देश्यले आयोजना गरिएको कार्यक्रम होइन। प्रवासमा रहेका नेपाली दिदीबहिनी, वैदेशिक रोजगारीमा रहेका श्रमिक, परिवार तथा नेपाली समुदायलाई आफ्नो मौलिक संस्कृति र तीजको भावनासँग जोड्ने उद्देश्यले विगत चार वर्षदेखि यो अभियानलाई निरन्तरता दिइँदै आएको छ।

Ayusha Makeup Salon Qatar, Dana Salon Qatar तथा Ayusha Salon and Academy Pvt. Ltd. Nepal को संयुक्त आयोजनामा हुन लागेको यस वर्षको कार्यक्रम अझ विशेष रूपमा महिला सशक्तीकरण, आपसी सद्भाव, एकता र मातृभूमिप्रतिको सामाजिक उत्तरदायित्वसँग जोडिएको छ।

नेपालले सामना गरिरहेको विपद् र पीडाको यस संवेदनशील घडीमा आयोजकले कार्यक्रमलाई केवल मनोरञ्जनका रूपमा नभई शोकलाई शक्तिमा, पीडालाई प्रेरणामा र कठिन परिस्थितिलाई एकताको ऊर्जामा बदल्ने माध्यमका रूपमा अगाडि बढाएको जनाएको छ। साथै आफ्नो क्षमताले भ्याएसम्म विपद् प्रभावितहरूका लागि आर्थिक सहयोग गर्ने संकल्पसमेत आयोजकले गरेको छ।

कार्यक्रमको अर्को महत्वपूर्ण सन्देश हो—“महिलाले महिलालाई साथ दिऔँ, उठाऔँ र अगाडि बढ्न प्रेरित गरौँ।” दुःखमा एकअर्काको हात समात्ने, संघर्षमा हौसला दिने र सफलतामा एकअर्कालाई सम्मान गर्ने संस्कारले नै महिला र समुदाय दुवैलाई बलियो बनाउने आयोजकको विश्वास छ।

आयोजकका अनुसार, “हामी देशको दुःखबाट अलग छैनौँ। दुःखलाई बिर्सन होइन, शोकलाई शक्तिमा बदल्दै अझ जिम्मेवार र एकताबद्ध भएर अगाडि बढ्न चाहन्छौँ। यो कुनै कमर्सियल कार्यक्रम होइन; यो प्रवासी नेपाली समुदाय, हाम्रो संस्कृति, हाम्रा दिदीबहिनी र मातृभूमिप्रतिको माया तथा सामाजिक जिम्मेवारीबाट गरिएको प्रयास हो।”

नेपाली मौलिक संस्कृति, संगीत, महिला सशक्तीकरण र सामाजिक एकताको सन्देश बोकेको ‘माइती–चेली’ सांगीतिक तथा सांस्कृतिक कार्यक्रम शुक्रबार साँझ ५ बजेदेखि राति ११ बजेसम्म Radisson Blu Hotel, Doha मा निःशुल्क प्रवेशसहित आयोजना हुनेछ।

Advertisement

थप समाचार (More News)