हल्दीबारी झापा दुवै मिर्गौला फेल भई गम्भीर अवस्थामा रहेका हल्दीबारीका १५ वर्षीय बालक नवीन मेचेको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ। अनलाइन सञ्चारमाध्यम ‘हल्दीबारी डट कम’मा समाचार प्रकाशित भएपछि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा स्थानीय दाताहरू सहयोगका लागि अघि बढेका हुन्।

विभिन्न मनकारी महानुभावहरूबाट प्राप्त कुल ३५ हजार ५ सय १ रुपैयाँ बिहीबार पीडित बालकका आमाबुबालाई हस्तान्तरण गरिएको छ।

पीडित बालकको जीवन रक्षाका लागि कामाक्ष देवी टी प्रालीबाट १५ हजार, कतारमा कार्यरत बिर्तामोड (गरामनी) का रामप्रसाद सिटौलाबाट १० हजार, हल्दीबारी–४ का अनिल मेचेबाट ५ हजार ५ सय र हल्दीबारी–३ का कृष्ण मेचेबाट ५ हजार १ रुपैयाँ सङ्कलन भएको थियो।
उक्त रकम हल्दीबारी डट कमका सल्लाहकार एवं कामाक्ष देवी टी प्रालीका सञ्चालक शुक्र दाहाल र प्रधान सम्पादक नेत्रविक्रम बिमलीले संयुक्त रूपमा बालकका आमाबुवा कार्यरत ठाउँमै पुगेर हस्तान्तरण गरेका हुन्।
यसैगरी, हल्दीबारी डट कमको खातामा हल्दीबारी–४ का मेघराज गिरीबाट ३ हजार र हल्दीबारी–३ का उमेश मेचेबाट १ हजार ५ सय ५० रुपैयाँ प्राप्त भएको छ। त्यस्तै, हल्दीबारी–३ का विनय मण्डलबाट २ हजार र अन्य एक व्यक्तिबाट ५ हजार रुपैयाँ सोझै प्राप्त भएको जानकारी नवीनकी आमाले दिएकी छन्। मिडियाको खातामा सङ्कलित थप रकम पनि केही दिनभित्रै परिवारलाई हस्तान्तरण गरिने जनाइएको छ।
अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण बालकको निरन्तर डायलासिस र थप उपचारमा समस्या भएपछि परिवारले नवीनको ज्यान बचाउन स्थानीय जनप्रतिनिधि, सामाजिक संघ-संस्था, व्यवसायी, सञ्चारकर्मी तथा देश-विदेशमा रहेका मनकारी महानुभावहरूसँग थप आर्थिक सहयोगको अपिल गरेका छन्।
