झापा । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले तीन विषयगत उपसमिति गठन गर्दै सबैको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई सुम्पेको छ। समितिको हालै बसेको पूर्ण बैठकले वाणिज्य तथा आपूर्ति, उपभोक्ता हित र उद्योग उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरेको हो।

झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित रास्वपा सांसद प्रकाश पाठक नवगठित वाणिज्य तथा आपूर्ति उपसमितिको संयोजक चयन भएका छन्। उक्त उपसमितिमा अमरकान्त चौधरी, कालीबहादुर सहकारी, कृपाराम राना, टेकबहादुर शाक्य, मातृकाप्रसाद यादव र सृजना श्रेष्ठ सदस्य छन्।

त्यस्तै उपभोक्ता हित उपसमितिको संयोजकत्व रास्वपा सांसद रन्जु न्यौपानेले पाएकी छन्। यो उपसमितिमा आनन्दबहादुर चन्द, निराशा चौधरी डगौरा, प्रकाशसिंह कार्की, बुद्धरत्न महर्जन, लालविक्रम थापा र क्षितिज थेबे सदस्यका रूपमा रहेका छन्।
उद्योग उपसमितिको संयोजकमा भने रास्वपाकै बदनकुमार भण्डारी चयन भएका छन्। भण्डारीको नेतृत्वमा रहेको उपसमितिमा अरविन्द शाह, एलिजा गुरुङ, गंगादेवी श्रेष्ठ, बुद्धिप्रसाद पन्त, हरिनादेवी कामी र सूर्यबहादुर तामाङ सदस्य रहेका छन्।
यसअघि समितिले रास्वपा सांसद प्रभा कार्कीको संयोजकत्वमा वैदेशिक रोजगार उपसमिति गठन गरिसकेको छ। योसँगै उद्योग तथा वाणिज्य समितिका चारवटै विषयगत उपसमितिको नेतृत्व रास्वपाको भागमा परेको छ।
