हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी सम्बाददाता ४६ मिनेट अगाडि

देशभर हलचल ल्याएको तीन वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : मुख्य प्रतिवादी नै २० हजार धरौटीमा रिहा

बाराको जीतपुरसिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि भएको बिभत्स हत्या प्रकरणमा आरोपी बनाइएका १० जनालाई बारा जिल्ला अदालतले रिहा गर्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले मुख्य प्रतिवादी जीतपुरसिमरा उपमहानगरपालिका–१ का प्रोग्रेश (पुरग्रेश) चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा र अन्य ९ जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

Advertisement

अदालतले प्रोग्रेशका बुबा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममताका साथै सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिनलाई साधारण तारेखमा छाडेको छ। किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता गरे तापनि घटनामा उनीहरूको संलग्नता पुष्टि हुने ठोस प्रमाण नदेखिएपछि अदालतको आदेशसँगै उनीहरू बिहीबार साँझ जेलमुक्त भएका छन्।

Advertisement

​यसअघि अदालतले सोही घटनामा प्रतिवादी बनाइएका दुई जना नाबालकलाई भने मुद्दाको अन्तिम टुङ्गो नलागेसम्मका लागि वीरगन्जस्थित बाल सुधारगृहमा राखी पुर्पक्ष गर्न आदेश दिइसकेको छ। पक्राउ परेका दुई नाबालकमध्ये एक जनाले बालिकालाई चकलेट खुवाएर बलात्कारपछि हत्या गरेको बयान प्रहरीसमक्ष दिइसकेका छन्। उनको बयान घटनास्थल र शवको प्रकृतिसँग मिलेकाले प्रहरीले घटनामा उनकै मुख्य संलग्नता रहेको निष्कर्ष निकालेको थियो। अनुसन्धानकै क्रममा अर्का एक नाबालकलाई पनि प्रहरीले पक्राउ गरेको थियो, यद्यपि उनले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन्।

​यसैबीच, अस्पतालको ओसीएमसी कक्षमा चिकित्सकसँग नाबालकले कुराकानी गर्दै घटना स्वीकार गरेको संवेदनशील भिडियो ‘लीक’ गर्ने प्रहरी हवल्दार कुमार विकमाथि पनि कानुनी डन्डा चलेको छ। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय बाराले हवल्दार विकलाई हिरासतमा लिएर वैयक्तिक गोपनीयता र विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही अगाडि बढाएको छ। गत साउन ३१ गतेदेखि हराएकी बालिकाको भदौ २ गते घरनजिकैको खाली घरमा शव भेटिएपछि देशभर तीव्र विरोध र आन्दोलन चर्किएको थियो। पछि गृह मन्त्रालयमा सरकारी टोली र पीडित परिवारबीच तीनबुँदे सहमति भएपछि मात्रै मृतक बालिकाको पसाहा खोलामा अन्त्येष्टि गरिएको थियो।

Advertisement

हल्दिबारी सम्बाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)