झापा, बाह्रदशी । सन्थाली भाषा तथा ओल–चिकी लिपि सिक्न सहज हुने गरी तयार पारिएको ‘सन्थाली वर्णमाला’ पुस्तकको पाँचौँ संस्करण प्रकाशन भएको छ।

झापा जिल्ला बाह्रदशी गाउँपालिका–२, राजगढ स्थायी निवासी शिबु मुर्मुको अनुवादक तथा सम्पादकत्वमा पुस्तकको पाँचौँ संस्करण प्रकाशन गरिएको हो। सन्थाली वर्णमालाको माग पटक–पटक बढ्दै गएपछि मुर्मुले पुनः पुस्तक प्रकाशन गरेका हुन्। पुस्तकको प्रकाशन **सिर्जन मिडिया प्रा. लि.**ले गरेको छ।

भारतको ओडिशाका सन्थाली लिपिका निर्माता स्वर्गीय पण्डित रघुनाथ मुर्मुले विकास गरेको ओल–चिकी लिपिलाई सहज र सरल तरिकाले सिक्न सकिने उद्देश्यले पुस्तक तयार पारिएको हो। पुस्तकमा ओल–चिकी लिपिलाई नेपाली तथा अंग्रेजी भाषामार्फत बुझ्न सहज हुने गरी सामग्री समेटिएको छ।
ओल–चिकी लिपि सन्थाली भाषा, साहित्य र संस्कृतिको महत्वपूर्ण आधारका रूपमा रहेको छ। भारतका विभिन्न जिल्लामा सन्थाली माध्यमबाट विद्यालय तथा विश्वविद्यालय तहसम्म अध्ययन–अध्यापन हुँदै आएको छ।
नेपालमा पनि पछिल्लो समय सन्थाली भाषा तथा ओल–चिकी लिपिप्रति समुदायको चासो बढ्दै गएको छ। झापा, झापा गाउँपालिका, गौरीगञ्ज तथा मोरङको जहदा गाउँपालिकालगायतका क्षेत्रमा स्थानीयको पहलमा प्रत्येक शनिबार निःशुल्क सन्थाली भाषा तथा ओल–चिकी लिपि पढाइ हुँदै आएको छ।
सन्थाली भाषा र ओल–चिकी लिपिको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरणका लागि समुदायस्तरबाट भइरहेका यस्ता प्रयासलाई स्थानीय सरकारले पनि प्राथमिकताका साथ सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ। भाषा तथा लिपि संरक्षणका लागि स्थानीय तहले प्रशिक्षण, शैक्षिक सामग्री र आवश्यक पूर्वाधारमा सहयोग गर्न सकेमा यस अभियानलाई थप प्रभावकारी बनाउन सकिने स्थानीयहरूको भनाइ छ।
पाँचौँ संस्करणसम्म पुस्तक प्रकाशन हुनु सन्थाली भाषा तथा ओल–चिकी लिपि सिक्न चाहनेहरूबीच यसको माग र उपयोगिता बढ्दै गएको संकेतका रूपमा समेत लिइएको छ।
“सिर्जन मिडिया बुक स्टोर”मा उपलब्ध छ !
‘सन्थाली वर्णमाला’को पाँचौँ संस्करण अहिले सिर्जन मिडिया बुक स्टोरमा उपलब्ध रहेको छ। सन्थाली भाषा तथा ओल–चिकी लिपि सिक्न इच्छुक विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य इच्छुक पाठकले सिर्जन मिडिया बुक स्टोरमार्फत पुस्तक प्राप्त गर्न सक्नेछन्।
