झापा (हल्दिबारी) — नेपाली मौलिक संस्कृति, परम्परा र तीजको महिमालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ हल्दिबारी–३ स्थित चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ।

मुलुक प्राकृतिक विपत्तिका कारण संवेदनशील अवस्थामा रहेकाले कुनै तडकभडकबिना विद्यार्थीहरूलाई तीजको संस्कार, संस्कृति र यसको वास्तविक महत्त्वबारे सिकाउन कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने खालका गतिविधि प्रस्तुत गरिएको थियो।

कार्यक्रमकी सभाध्यक्ष मिना शर्मा, प्रमुख अतिथि एवम् विद्यालयका प्रधानाध्यापक दुर्गामणि गौतम र विशिष्ट अतिथि चिल्ड्रेन गार्डेन पूर्व विद्यार्थी समाजका अध्यक्ष अभिषेक खतिवडाको उपस्थितिमा सम्पन्न उक्त समारोहमा शिक्षक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति थियो।
कार्यक्रममा विद्यार्थीहरूकै सक्रियतामा ‘आधुनिक तीजविरुद्ध मौलिक तीजको महत्त्व’ विषयमा आधारित सचेतनामूलक नाटक प्रस्तुत गरिएको थियो। नाटकमा पछिल्लो समय तीज पर्वमा भित्रिँदै गएको अस्वाभाविक आधुनिकता, देखासिकी र भड्किलोपनलाई निरुत्साहित गर्दै मौलिक परम्परा र धर्म-संस्कृतिको जगेर्ना गर्नुपर्ने सन्देश दिइएको थियो।
यसैगरी, तीजको महत्त्व झल्काउने मौलिक गीतहरूमा नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा सुबशना राई प्रथम, प्रकृति खड्का द्वितीय र लक्ष्मी कर्मकार तृतीय हुन सफल भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् प्रधानाध्यापक दुर्गामणि गौतमले बालबालिकालाई आफैं योजना बनाएर कार्यक्रम सञ्चालन गर्न दिँदा उनीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सिर्जनात्मक सोचको विकास हुने बताउनुभयो।
त्यस्तै, पूर्व विद्यार्थी समाजका अध्यक्ष अभिषेक खतिवडाले पठनपाठनका साथै नयाँ पुस्तामा नेपाली धर्म, संस्कृति र रीतिरिवाज हस्तान्तरण गर्न विद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। आधुनिकताको बढ्दो प्रभावबीच आफ्ना मौलिक परम्पराको संरक्षण अति आवश्यक भइसकेको उहाँको भनाइ थियो।
कार्यक्रमकी सभाध्यक्ष मिना शर्माले आधुनिक तीजका नाममा हुने तडकभडकभन्दा मौलिक भावनालाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले विद्यार्थीभित्र लुकेको कला र सिर्जनशीलता प्रस्फुटन गराउन मद्दत पुग्ने उल्लेख गर्नुभयो।
शिक्षक खिवराज भट्टराईको सहजीकरणमा विद्यार्थीहरू आफैंले सञ्चालन गरेको उक्त कार्यक्रम विशुद्ध शैक्षिक र सन्देशमूलक रहेको सहायक प्रधानाध्यापक मनोज सुवेदीले जानकारी दिनुभयो। प्राकृतिक विपत्तिका कारण मुलुक दुःखद परिस्थितिमा रहेकाले यस वर्ष सामान्य एवम् अनुशासित वातावरणमा कार्यक्रम आयोजना गरिएको र विद्यालयका तर्फबाट विपद् प्रभावितहरूका लागि यसअघि नै ३२ हजार ३ सय ८५ रुपैयाँ सहयोग उपलब्ध गराइसकिएको उहाँले बताउनुभयो।
विद्यार्थीहरूलाई आफ्ना परम्परा र संस्कृति नजिकबाट बुझ्न, प्रतिभा प्रस्तुत गर्न र संस्कारलाई आगामी पुस्तासम्म पुर्याउन कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्याएको आयोजकको भनाइ छ।
