हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

झापाको भद्रपुरमा जापानिज इन्सेफ्लाइटिसबाट थप एक बालकको मृत्यु, मृतकको संख्या ७ पुग्यो

झापा, २७ भाद्र — झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोको संक्रमणका कारण थप एक बालकको मृत्यु भएको छ। भद्रपुर नगरपालिका–८ निवासी ८ वर्षीय अविनाश टुडुको उपचारका क्रममा मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ।

Advertisement

​नगर स्वास्थ्य शाखाका अनुसार भदौ ८ गते उच्च ज्वरो आएपछि अविनाशलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर भर्ना गरिएको थियो। परीक्षणका क्रममा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएपछि थप उपचारका लागि भदौ १० गते उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) पठाइएको थियो। धरानमा १४ दिनसम्म उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नआएपछि परिवारले उनलाई घर फर्काएका थिए। उनको शुक्रबार घरमै मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ।

Advertisement

​स्वास्थ्य कार्यालय झापाका अनुसार यसअघि मेचीनगरमा दुई जना तथा बिर्तामोड, बाह्रदशी, अर्जुनधारा र हल्दीबारीमा एक–एक जनाको जेई संक्रमणका कारण मृत्यु भइसकेको छ।

​जिल्लामा जेई संक्रमण र मृत्युदर बढेपछि रोकथामका लागि खोप अभियान सञ्चालन गर्ने तयारी थालिएको छ। स्वास्थ्य कार्यालयले आगामी असोज ५ गतेदेखि जिल्लाभर खोप अभियान सञ्चालन गर्ने जनाएको छ।

​अभियानअन्तर्गत ३० वर्षमाथिका करिब ४ लाख ९३ हजार ३ सय १९ जना नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयका प्रमुख ब्रिजकुमार दासले जानकारी दिए। उनका अनुसार अभियानलाई प्रभावकारी बनाउन आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी तीव्र पारिएको छ।

​जापानिज इन्सेफ्लाइटिस संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। संक्रमण भएपछि उच्च ज्वरो आउने, कडा टाउको दुख्ने, बेहोस हुने तथा स्नायु प्रणालीमा गम्भीर समस्या देखिने भएकाले समयमै सावधानी अपनाउन र लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्था पुग्न स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)