मिरिक। साहित्य सुनौँ परिवार मिरिकको १२७ औँ मासिक प्रकरण तथा मासिक सभा मिरिकको कृष्णनगरस्थित श्री कृष्ण मन्दिरको प्रेक्षागृहमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष अमर दुङमालीको अध्यक्षता एवम् महासचिव यज्ञनिधि ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार राजबहादुर राईको विशेष उपस्थिति रहेको थियो।

साहित्य पठनको पहिलो चरणमा नयाँ सदस्य देवेन्द्र राईले बालोरी छन्दमा रचित कविता वाचन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए। त्यसपछि विजय बान्तवा ‘कैलाशी’, सुन्दर घिसिङ, विनोदसिंह खाती, युवराज भण्डारी र अजम प्रधानले आ-आफ्ना कविता प्रस्तुत गरे। कार्यक्रममा केशाङ लामाले लघुकथा, जगत भण्डारीले दुईवटा मुक्तक तथा एसबी गजमेरले विजय बान्तवा ‘कैलाशी’ द्वारा लिखित कविता वाचन गरेका थिए।

यसैक्रममा शान्त प्रकाश राईले प्रसिद्ध साहित्यकार केदार गुरुङका कविताहरूमाथि समालोचनात्मक टिप्पणी प्रस्तुत गर्दै वाचित सम्पूर्ण रचनाहरूको संक्षिप्त समीक्षा गरे। विशेष अतिथि राजबहादुर राईले साहित्यको उत्थान र विकासबारे आफ्ना विचार व्यक्त गरेका थिए।
कार्यक्रमको दोस्रो चरणमा साहित्य सुनौँ परिवारका सहसचिव गणेश बराइलीद्वारा लिखित नियात्रा कृति ‘अनुभूतिका पलहरू’ को भव्य विमोचन गरियो। संस्थाका अध्यक्ष अमर दुङमालीले विमोचित कृति पाठकसमक्ष समर्पित भएको घोषणा गरे। उक्त कृतिको भूमिका लेखक, कवि तथा साहित्यकार अजम प्रधानले पुस्तकको साहित्यिक पक्षबारे प्रकाश पारेका थिए। कृति विमोचनपश्चात् उपस्थित सदस्यहरूले लेखक बराइलीलाई खदा ओढाएर बधाई एवम् शुभकामना व्यक्त गर्दै अभिनन्दन गरे।
कार्यक्रममा संस्थागत गतिविधिअन्तर्गत ‘सन्दुक’ पत्रिकाको दोस्रो अङ्क बिक्रीबापतको रकम कोषाध्यक्षलाई हस्तान्तरण गरिएको थियो। अजम प्रधान र जगत भण्डारीले ५०-५० प्रति बिक्री गरी पाँच-पाँच हजार रुपियाँ तथा जिनर घतानीले ५ प्रति बिक्रीबापत पाँच सय रुपियाँ कोषाध्यक्ष युवराज भण्डारीलाई बुझाए। सोही अवसरमा देवेन्द्र राईले संस्थाको सदस्यता ग्रहण गरेपछि उनलाई भव्य स्वागत गरियो।
उक्त मासिक प्रकरणमा जिनर घतानी, अञ्जली खातीलगायत अन्य साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो। अन्तमा, अध्यक्ष अमर दुङमालीले सबैको गरिमामय उपस्थितिका लागि धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गरेको जानकारी संस्थाका सहसचिव अजम प्रधानले दिएका छन्।
