झापा । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १,३८८ पुगेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २८ गते साँझ ७:०० बजेसम्म संकलन गरेको तथ्यांक अनुसार बाढीका कारण अझै ५,१३० जना नागरिक बेपत्ता रहेका छन्।

विपद्का कारण सबैभन्दा ठूलो मानवीय क्षति चितवनमा भएको छ, जहाँ ३६४ जनाले ज्यान गुमाएका छन्। यस्तै नवलपरासी पूर्वमा २३०, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९, रसुवामा १८७, गोरखामा ७७, धादिङमा ७१, तनहुँमा ३८ र उपचारका क्रममा काठमाडौँमा २ जनाको मृत्यु भएको छ।

विपद् क्षेत्रबाट हालसम्म १३,७२८ जनाको सकुशल उद्धार गरिएको छ, जसमध्ये ३३९ जना विभिन्न १९ वटा अस्पतालमा उपचाररत छन् भने २७१ जना उपचारपछि घर फर्किएका छन्। उद्धारका क्रममा विभिन्न सुरक्षा निकायबाट ९,३१४ जनाको प्राथमिक उपचार गरिएको छ। उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाले १,५१६ र सशस्त्र प्रहरीबल तथा नेपाल प्रहरीले ३२० हवाई उडान गरेका छन्।
बाढीमा परी मृत्यु भएका ३३४ महिला, ५४२ पुरुष र ५१२ मानव अंग फेला परेका छन्। क्षतविक्षत अवस्थामा शवहरू भेटिएकाले पहिचानका लागि १,२८६ मृतक र १,८४६ आफन्तको डिएनए नमुना संकलन गरिएको छ। हालसम्म १०४ जनाको मात्र डिएनए परीक्षण र सनाखत भई बेपत्ता सूचीबाट हटाइएको छ।
अहिले प्रभावित क्षेत्रहरूमा सडक तथा हवाइमार्गमार्फत राहत सामग्री निरन्तर पठाइइरहेको छ। प्रभावित नुवाकोटका १,६१३, रसुवाका ८२९ र धादिङका ९४ जना गरी कुल २,५३६ जनालाई ३३ वटा होल्डिङ सेन्टरमा राखिएको छ।
होल्डिङ सेन्टरमा बस्न नचाहने परिवारका लागि सरकारले वैकिल्पक बसोबास र जीविकोपार्जनका लागि विशेष राहतको घोषणा गरेको छ। जसअनुसार ४ जनासम्मको परिवारलाई ६ महिनाका लागि प्रतिपरिवार मासिक १५ हजार रुपैयाँ र सोभन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप २ हजार रुपैयाँ उपलब्ध गराइनेछ।
उद्धार तथा व्यवस्थापनका लागि हाल ३३ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र १५ हजार लिटर हवाइ इन्धन मौज्दात राखिनुका साथै ५०२ वटा ग्यास सिलिन्डर प्रभावित क्षेत्रमा पठाइएको छ। यस्तै यातायात सहज बनाउन नुवाकोटको देवीघाटमा ‘एक्रो ब्रिज’ जडान गरी सडक सञ्चालनमा ल्याइएको छ।
