झापा । झापाको हल्दिबारी गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा हासिल गरेका मुख्य उपलब्धि तथा असल अभ्यासहरूबारे समीक्षा सम्पन्न गरेको छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, सुशासन तथा सामाजिक समावेशीकरणका क्षेत्रमा हासिल गरेका तथ्यगत विवरणहरू सार्वजनिक गरेको हो।

समीक्षा कार्यक्रममा शैक्षिक अनुशासन कायम गर्न र विद्यार्थीमा लागूऔषध दुर्व्यसनी नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको “विद्यार्थीको खल्ती चेक कार्यक्रम” ले विशेष चर्चा पाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) का अनुसार समस्याको पहिचान गरी समाधान खोज्नु र नवीन अभ्यासहरू लागू गर्नु पालिकाको प्राथमिकता रहेको छ। “गत वर्ष प्राप्त उत्कृष्टता हाम्रो गौरव हो,” प्रमुख प्रशासकीय अधिकृत बनले भने, “यस वर्षको प्रस्तुतिले थप आत्मविश्वास बढाएको छ र आगामी दिनमा नागरिकलाई अझ प्रभावकारी सेवा दिने जिम्मेवारी बढेको छ।”
उनले कामको मूल्याङ्कन कागजी पुरस्कार भन्दा पनि नागरिकको सन्तुष्टि र मुस्कानले हुनुपर्ने बताए। स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास र सुशासनलाई आधार बनाएर आगामी कार्यक्रमहरू अघि बढाइने पालिकाले जनाएको छ।
