हल्दिबारी ,झापा, भदौ २९ । विभिन्न सरकारी तथा राजनीतिक पदको नक्कली परिचय दिँदै धाक-धम्की दिने र दबाब सिर्जना गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा झापाको हल्दीबारी गाउँपालिका वडा नं. १ बस्ने २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन्।

प्रहरीका अनुसार विश्वकर्माले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भन्दै झुठो परिचय दिने गरेका थिए। सोही परिचयका आधारमा उनले विभिन्न सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थाहरूमा अनधिकृत रूपमा प्रवेश गर्ने र दबाब तथा धाक-धम्की दिने गरेको पाइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले दाबी गरेका पद तथा जिम्मेवारीहरू वास्तविक नभएको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान गर्न झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले उक्त व्यक्तिले कसैलाई झुठो परिचय दिएर कुनै प्रकारको अनुचित लाभ लिएको वा कसैलाई हानि-नोक्सानी पुर्याएको भए तत्काल प्रहरी कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
