काठमाडौ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गरी केन्द्रीय निर्वाचन समितिले ७७ वटै जिल्लामा जिल्ला निर्वाचन अधिकृत परिचालन गरेको छ।

पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन आयोजना हुँदैछ। सोही महाधिवेशनको पूर्वसन्ध्यामा तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न निर्वाचन प्रक्रियालाई तीव्र बनाइएको समितिले जनाएको छ।

सार्वजनिक कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते पालिका अधिवेशन, तथा असोज १० गते प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तोकिएको छ।
खटिएका निर्वाचन अधिकृतहरूले सम्बन्धित जिल्ला कार्यसमितिसँग समन्वय गरी निर्वाचनका प्रारम्भिक तयारी अघि बढाएका छन्। केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले महाधिवेशन पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ बनाउने महत्त्वपूर्ण अवसर भएको उल्लेख गर्दै सबै क्रियाशील सदस्य तथा नेता-कार्यकर्तालाई उत्साहपूर्वक सहभागी हुन अपिल गरेका छन्।
