झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि सुरु हुने निर्वाचन प्रक्रियाका लागि नेपाली कांग्रेस झापाले जिल्लाका सबै १३१ वटै वडामा निर्वाचन अधिकृत खटाएको छ।

निर्वाचन निर्देशिका तथा पार्टी विधानका व्यवस्थाबारे जिल्ला तहमा प्रशिक्षण दिएपछि निर्वाचन अधिकृतहरूलाई सम्बन्धित वडामा पठाइएको हो। प्रशिक्षणका क्रममा जिल्ला निर्वाचन अधिकारी दिव्यराज घिमिरेले महाधिवेशनलाई सहमति, सहकार्य र एकताको माध्यम बनाउँदै निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न आग्रह गरे।

निर्देशिकाअनुसार वडा अधिवेशनबाट छ पदाधिकारीसहित कम्तीमा १७ सदस्यीय वडा समिति निर्वाचित हुनेछ। क्रियाशील सदस्यको संख्याका आधारमा न्यूनतम २३ देखि अधिकतम ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले यसपटकको अधिवेशनमा अधिकतम सहमति, सहकार्य र एकता कायम गरी सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे। उनका अनुसार पार्टीले खुला, महिला, पेशागत तथा विषयविज्ञ, ३५ वर्षमुनिका युवा, समानुपातिक, अपाङ्गता, दलित, प्रजातन्त्र सेनानी, शहीद परिवार तथा द्वन्द्वपीडित र श्रमिकलगायतका क्लस्टरको व्यवस्था गरेको छ।
पार्टीको कार्यतालिकाअनुसार असोज ७ गते गाउँ तथा नगर अधिवेशन र असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय निर्वाचन हुनेछ। गाउँ तथा नगर अधिवेशनबाट गाउँ/नगर समिति र प्रदेशसभा क्षेत्रीय निर्वाचनबाट प्रदेश समिति एवम् कोशी प्रदेशका लागि अधिवेशन प्रतिनिधि चयन हुनेछन्। प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनबाट भने क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधि चयन हुनेछन्।
विधानअनुसार गाउँ/नगर, प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रीय सभापति पदमा उम्मेदवार बन्न सम्बन्धित तहको क्षेत्रीय प्रतिनिधि हुनुपर्नेछ भने जिल्ला सभापति, प्रदेश सभापति तथा केन्द्रीय सदस्यका लागि महाधिवेशन प्रतिनिधि हुनु अनिवार्य छ।
झापा कांग्रेसका कार्यालय सचिव जयकुमार दाहालका अनुसार विधानको ११औँ संशोधनले गाउँ/नगर र प्रदेशसभा क्षेत्रीय सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधि तथा प्रतिनिधिसभा क्षेत्रीय सभापतिलाई पदेन महासमिति सदस्य हुने व्यवस्था गरेको छ।