पवन गिरी :

गौरादह, झापा — जलवायु परिवर्तनका असर न्यूनीकरण तथा जलवायु न्यायका लागि युवाको सक्रिय सहभागिता बढाउने उद्देश्यले झापाको गौरादहमा ‘ग्लोबल डे अफ क्लाइमेट एक्सन’ कार्यक्रम सम्पन्न भएको छ।

नेपाली युथ क्लाइमेट एक्सन (एनवाईसीए) झापाको सहकार्यमा गौरादहका युवाहरूले धोबिनिया चोकमा आयोजित कार्यक्रममा स्थानीय समुदाय तथा युवाहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रममा जलवायु सङ्कट, यसले पारेको प्रभाव र न्यूनीकरणका उपायबारे अन्तरक्रिया, प्रस्तुति र कलामार्फत सचेतना (आर्टिभिजम) प्रस्तुत गरिएको थियो।
त्यस अवसरमा सहभागीहरूले “जलवायु न्यायका लागि युवा अभियान” लाई स्थानीय तहबाटै प्रभावकारी बनाउनुपर्ने र वातावरण संरक्षणमा युवाको भूमिका बढाउनुपर्नेमा जोड दिए। जलवायु परिवर्तनको मार सबैभन्दा बढी जोखिममा रहेका समुदाय र भावी पुस्ताले भोग्नुपरेकाले यसको दीर्घकालीन समाधानका लागि युवा पुस्ता स्वयम् अग्रसर हुनुपर्ने सन्देश कार्यक्रममार्फत दिइएको छ।
कार्यक्रमले स्वच्छ वातावरण, जीवाश्म इन्धनमुक्त भविष्य र न्यायपूर्ण जलवायु प्रणालीको निर्माणका लागि युवाको सामूहिक आवाज तथा पहललाई एकीकृत गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।
