झापा। संविधान दिवसको अवसरमा झापाको हल्दिबारी–३ स्थित ढडुवा बजारमा शुक्रबार साँझ दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। संविधानको पूर्ण कार्यान्वयन, संरक्षण तथा संवैधानिक मूल्य–मान्यताको प्रवर्द्धनप्रति सामूहिक प्रतिबद्धता जनाउन ढडुवा युवा क्लबले उक्त कार्यक्रम आयोजना गरेको हो।

आयोजक ढडुवा युवा क्लबका अध्यक्ष गोपाल न्यौपानेको अध्यक्षतामा आयोजित दीप प्रज्वलन कार्यक्रममा हल्दिबारी–३ का वडा अध्यक्ष विष्णुप्रसाद ओली प्रमुख अतिथि थिए। दीप प्रज्वलनपछि बोल्दै वडा अध्यक्ष ओलीले संविधान र कानुनको शासनमार्फत प्रत्येक नागरिकले राज्यबाट समान अधिकार, न्याय र सुरक्षाको अनुभूति पाउनुपर्ने बताए। “संविधानको मर्म र भावनालाई व्यवहारमा उतार्न तथा नागरिक अधिकार सुनिश्चित गर्न स्थानीय तहदेखि सबै पक्षको ऐक्यबद्धता आवश्यक छ,” उनले भने।

कार्यक्रममा सहभागीहरूले संविधानलाई दस्तावेजमा मात्र सीमित नराखी नागरिक अधिकार, लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र राष्ट्रिय एकताको आधारका रूपमा व्यवहारमै ढाल्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा वडा सदस्य कर्ण भण्डारी, क्लबका शुभचिन्तकहरू प्रकाश ढकाल, ॐ भट्टराई, दिनेश मेचेसहित स्थानीय युवा, विद्यार्थी तथा सर्वसाधारणको उपस्थिति थियो। क्लबका सचिव अभिषेक खतिवडाले सञ्चालन गरेको कार्यक्रमले स्थानीयस्तरमा नागरिक सचेतना र लोकतान्त्रिक संस्कार अभिवृद्धिका लागि सन्देश दिएको आयोजकले जनाएको छ।
